काठमाडौं: फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले नान्टेजविरुद्ध सहज जित निकालेको छ।
गएराति नान्टेजको मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीले ३–० गोलको जित निकालेको हो। पीएसजीको जितमा केलियन एमबाप्पेले दुई तथा नुनो मेन्डेसले एक गोल गरे।
खेलको १८औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई एक शून्यको अग्रता दिलाएका थिए । खेलको २४औँ मिनेटमा फाबियो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नान्टेज १० खेलाडीमा सीमित भएको थियो। खेलको ५४औँ मिनेटमा दोस्रो गोल गर्दै एमबाप्पेले पीएसजीको अग्रता दोब्बर पारे।
६८औँ मिनेटमा मेन्डेसले गोल गर्दै ३–० गोलको जित सुनिश्चित गरे। जितसँगै पीएसजी लिगमा ६ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ। नान्टेज ६ खेलबाट ६ अंक जोडेर १०औँ स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा मार्सेलीले अंक्सेरेलाई २–० ले हरायो। मार्सेली पनि समान १६ अंककासाथ दोस्रो स्थानमा छ। यस्तै लियोनले एन्जर्समाथि ५–०को सहज जित निकाल्यो। लियोन १३ अंकसहित तेस्रो स्थानमा रहेको छ।