एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलमा साविको विजेता युभेन्टसले सहज जित निकालेको छ ।
आइतबार राति भएको युभेन्टसले जेनोआमाथि ३–१ गोल अन्तरको शानदार जित निकालेको हो ।
घरेलु टोली युभेन्टसलाई जिताउन डेजान कुलुसेभ्स्की, अल्भारो मोराटा र वेस्टन एमसीकेनीले समान १/१ गोल गरे । यता जेनोआका जियानलुका स्कामाकाले एक सान्त्वना गोल गरे ।
जारी खेलको चौथो मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाए । त्यस्तै २२औँ मिनेटमा मोराटाले गोल गर्दै युभेन्टसलाई पहिलो हाफमै २–० गोलको आरामदायी अग्रता दिलाए ।
४९औँ मिनेटमा स्कामकाले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर ७०औँ मिनेटमा एमसिकेनीले गोल गर्दै युभेन्टसको ३–१ गोलको जित पक्का गरे ।
उक्त जितसँगै युभेन्टसले उपाधि आशा कायमै राखेको छ । तेस्रो स्थानको युभेन्टसले ३० खेलबाट ६२ अङ्क जोडेको छ । दोस्रो स्थानको एसी मिलानसँग ६३ अङ्क भने इन्टर मिलान ७४ अङ्कसहित शीर्ष स्थानमा छ ।यता पराजित जेनोआ भने ३२ अङ्कका साथ १३औँ स्थानमा छ ।