काठमाडौँ — एसिया कपको सुपर–४ मा पाकिस्तानले भारतलाई पाँच विकेटले पराजित गरेको छ । भारतले दिएको १ सय ८२ रनको लक्ष्य पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाएर प्राप्त गरेको थियो ।
लिग चरणमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । पाकिस्तानले यसअघिको हारको बदला लिएको छ ।
अर्शदीप सिंहको अन्तिम ओभरमा जितका लागि पाकिस्तानलाई सात रन चाहिएको थियो । इफतिखर अहमदले विजयी रन बटुले र दुई रन बनाएर नटआउट रहे । अर्का नटआउट ब्याट्सम्यान खुशदील शाहले ११ बलमा १४ रन बनाए । पाकिस्तानका लागि मोहम्मद रिजवान सर्वाधिक ७१ रन बनाए । उनी ५१ बलको सामना गरेर हार्दिक पान्ड्याको बलमा आउट भए । उनले दुई छक्का र ६ चौका प्रहार गरे ।
खराब लयबाट गुज्रिरहेका पाकिस्तानी कप्तान बाबर आजम १० बलमा १४ रन मात्र बनाउन सके । उनी रवि बिस्नोइको शिकार बने । फकर जमानले पनि १८ बलमा १५ रन मात्र बनाउन सके । मोहम्मद नवाजले भने २० बलमा ४२ रन बनाए । उनले ६ चौका र दुई छक्का प्रहार गरे । चौथो विकेटका लागि नवाजले रिजवानसँग ७३ रनको साझेदारी गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पूर्वकप्तान विराट कोहलीको अर्धशतकको मद्दतले सात विकेटमा १ सय ८१ रन बनाएको थियो । कोहलीले ४४ बलमा ६० रन बनाए । रनआउट हुन अगाडि उनले चार चौका र एक छक्का प्रहार गरे । उनको यो ३२ औं अर्धशतक रह्यो ।यसैक्रममा उनी ट्वान्टी-२० क्रिकेटमा सर्वाधिक अर्धशतक बनाउने ब्याटर बने ।