भदौ २०, २०७९ सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा दुई अर्ब रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार पेन्सन तथा उपदान कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्दती निक्षेपका रूपमा २०७९ असोज २ गतेदेखि २०८० असोज १ गतेसम्मको लागि राख्न लागिएको हो ।

यसरी मुद्दती निक्षेपका रूपमा राखिने कुल रकममध्येमा वाणिज्य बैंकहरूका लागि एक अर्ब ६० करोड, विकास बैंकहरूका लागि ३० करोड र फाइनान्स कम्पनीहरूका लागि १० करोड रुपैयाँ छुट्याइएको छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहने इच्छुक तथा फाइनान्स कम्पनीहरूले यही भदौ २२ गतेसम्ममा नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याजसमेत उल्लेख गरेर आवेदन दिनुपर्नेछ ।

रकम लगानीका लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरू तोकिएका छन् ।