केन्याविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपालले जितका लागि २५६ रनको लक्ष्य पाएको छ।
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर शुरुवाती ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएपछि नेपालले जितका लागि २५६ रनको लक्ष्य पाएको हो।
केन्याका लागि दुई खेलाडीले अर्धशतक प्रहार गरे। कोलिन्स ओबुयाले सर्वाधिक ८४ रनको योगदान गरे। १११ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे।
लुकास एनडानडासनले अविजित ५९ रन जोडे। २७ बलको सामना गरेका उनले ५ चौका र ५ छक्का प्रहार गरे। सुकदिप सिंहले ३७ रनको योगदान गरे भने इम्यानुअल बुन्डीले २३ रन जोडे।
बलिङतर्फ नेपालका सोमपाल कामी र अदिल अन्सारीले सर्वाधिक २र२ विकेट लिँदा शाहबाव आलम र बसिर अहमदले १र१ विकेट हात पारे।
केन्याविरुद्ध मैदानमा उत्रिएको नेपाल एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा छ। ३ खेलको सिरिजमा यसअघिका २ खेल जित्दै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा पनि जित निकाल्दै ३–० ले क्लिन स्विप गर्न चाहन्छ।