उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ अबको एक महिनामा सक्ने गरी अघि बढाइएको छ ।
कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दाहिनेतर्फ भएका सबै संरचना हटाएर निर्माणको काम भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । तीव्रगतिमा काम हुँदा अबको एक महिनामा सम्पन्न गर्न सकिने डिभिजन प्रमुख कुँवेर नेपालीले बताएका छन् ।
उनका अनुसार एउटा घरका कारण अर्को दिशामा निर्माणमा काम गर्न ढिलाइ भएको छ । घरधनीले मुआब्जा रकममा उपभोग क्षेत्रका आधारमा माग गरेका छन् । त्यो घरबाहेक अन्यत्र काम गर्न समस्या नभएको उनले बताएका छन् । उनले भने, “त्यो घरको पनि सहमति भएपछि दुई महिनासम्ममा सकिनेछ ।”सडक कार्यालयले निर्माण शुरु गर्नुभन्दा पहिले सडकका दुवैतर्फको निर्माणस्थल खाली गरेको थियो
देशभरका अधिकांश सडक निर्माणमा त्यहाँ रहेका पूर्वाधार हटाउँदै काम अघि बढाइएको छ । यहाँ भने सडकका संरचना हटिसकेपछि ठेक्का सम्झौता गरिएको थियो । कोटेश्वरबाट जडीबुटीतर्फ लाग्दा देब्रे (उत्तरतर्फ) एक लेन र दाहिने (दक्षिणतर्फ) दुई लेन थप्ने गरी निर्माणस्थल खाली भइरहेको छ । विमानस्थलको सुरक्षालाई ध्यान दिइएको छ । बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो ।
विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तार गर्न बाटो खुलेको हो । सडक निर्माणसँगै सो स्थानमा अपाङ्गतामैत्रीसहितको पैदल यात्रुमार्ग र हरियाली क्षेत्र हुनेछ । त्यसपछि जडीबुटीबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडीबुटी हुँदै पेप्सीकोलातर्फ जान रोकिने छैनन् । चोक नै पार गर्नुपर्दा केही समय रोकिए पनि चोक पार नगर्ने सवारी भने रोकिनुपर्ने छैन । सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने योजना रहेको डिभिजनले जनाएको छ । यस सडकमा लामो समयसम्म जाम हुँदा यात्रु र सवारी चालक हैरान भएका थिए ।
तीनकुनेबाट कौशलटारसम्म नै जाम हुँदा नागरिकलाई केही किमी यात्रा गर्न घण्टौँ लाग्ने गरेको थियो । अहिलेको सडक विस्तार अल्पकालीन समाधान भए पनि यसको दीर्घकालीन रुपमासमाधान ‘फ्लाई ओभर’ भएको सडक विभागले बताउँदै आएको छ । तीनकुने(सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सो स्थानमा ‘फ्लाई ओभर’ वा ‘अण्डर पास’ निर्माण गर्न अध्ययन गरिसकेको छ । यस सडकमा तीन लेन थपिएपछि सवारी चाप भने केही कम हुनेछ ।