काठमाडौँ । जिल्ला अदालत महोत्तरी परिसरमा एक कैदी कुटिएका छन् । प्रहरी हवल्दार दीपेन्द्र ठाकुरले कैदी सञ्जयकुमार शाहलाई झापड हानेका हुन् ।
गोलघरमा बस्ने विषयमा विवाद भएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी हवल्दार ठाकुरले ती कैदीलाई कुटपिट गरेका हुन् ।
प्रहरी हवल्दार ठाकुरले उक्त गोलघरमा आफू पनि बस्ने भनेर सञ्जयलाई अलि पर सर्न भनेका थिए । तर उनले पर सर्न ठाउँ नभएको भनेपछि ठाकुरले अश्लील शब्द प्रयोग गर्दै गाली गरेको सञ्जयले बताएका छन् ।
किन गाली गरेको भनेपछि हवल्दार ठाकुरले आफूलाई एक झापड हानेको उनले बताए ।
कारागारबाट जेलरसहितको टोली पुगेर कैदीहरूलाई फिर्ता ल्याएको जलेश्वर कारागारका जेलर रामचन्द्र शाहले बताए । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले छानबिन सुरु गरेको छ ।
जलेश्वर- २ निवासी शाह मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।