भदौ २२, २०७९ बुधबार

काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्याय आएका छन् भने काठमाडौँका प्रजिअ गोविन्द रिजाल गृह मन्त्रालय तानिए । 


दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
 

त्यस्तै सङ्खुवासभाका प्रजिअ नुरहरि खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको प्रजिअमा सरुवा गरिएको छ ।


त्यसैगरी कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य ललितपुरमा सरुवा भएको छ भने  कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । जुम्लाकी प्रजिअ विजयाकुमारी प्रसाईं मन्त्रालय तानिएकी छिन् भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरी पठाइएका छन् ।


यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ भने पाँचथरका प्रजिअ सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरको प्रजिअमा गणेश गैरेलाई पठाइएको गृह मन्त्रालयको सचिवालयले जानकारी दिएको छ ।