भदौ २२, २०७९ बुधबार

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतस्थित सिगात्से, केरुङ, ल्हासालगायत स्थानका गोदाममा थन्किएका र बाटामा रोकिएका सामग्री नेपाल पठाउन चिनियाँ पक्षले विवरण संकलन सुरु गरेको छ। कोरोनाको कारण देखाउँदै चीनले नेपालसँगको नाका बन्द गरेका कारण नेपाली व्यापारीले मगाएका सामग्री लामो समयदेखि आयात हुन सकेको छैन। 


नेपाल–चीन व्यापार गर्दै आएका धर्म पौडेलका अनुसार त्यहाँ रहेका एजेन्ट र ट्रान्सपोर्टले यससम्बन्धी जानकारी दिएका हुन्। 

बाटोमा रोकिएकाबाहेक अरू सामग्री जलमार्ग हुँदै ल्याइरहेको उनले बताए । उनका अनुसार चीनमा अडकएका दसैंका सामग्री यही साता आउन सुरु हुने सम्भावना छ। लत्ताकपडा, विद्युतीय सामग्री, जुत्ताचप्पललगायत सामाना रोकिएको छ। पछिल्लो समय स्याउ, अदुवा, लसुनलगायत सामग्री रसुवागढी नाकाबाट आउन छाडेको छ। 


रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, विद्युतीय सामग्री, निर्माण सामग्री, जुत्ताचप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात हुने गरेको छ। यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ।