भदौ २२, २०७९ बुधबार

काठमाडौं । नेपाल प्रहरीको आन्तरिक तहमा नियमित सरुवा नभएको भन्दै असन्तुष्टि उत्पन्न भएका बेला  २ जना प्रहरी उपरीक्षक (एसपी), २ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) र ५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसारजिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका एसपी प्रज्वल महर्जनको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय वीरेन्द्रनगर, सुर्खेत सरुवा भएको छ भने भुवनेश्वर तिवारीको नवलपरासी सरुवा भएको छ ।

यस्तै नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग ईन्टरपोल शाखा नक्सालमा कार्यरत डिएसपी हरि खतिवडाको जिल्ला प्रहरी कार्यालय पाँचथर सरुवा भएको छ भने डिएसपी राकेश थापाको खतिवडाको ठाउँमा सरुवा भएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय आबुखैरेनी, तनहुँमा इन्स्पेक्टर गायत्रीराज शर्माको सरुवा भएको छ । उनी नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १ प्रशासन शाखा नक्सालमा कार्यरत थिए ।

त्यस्तै इलाका प्रहरी कार्यालय अमलिया, दाङमा सुरेन्द्र विक्रम बर्तौलाको सरुवा भएको छ । यसअघि बर्तौला नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनमा कार्यरत थिए ।

यस्तै आबु खैरेनीका इन्स्पेक्टर निरज डाँगीको नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १ प्रशासन शाखा नक्सालमा सरुवा भएको छ भने लोकेन्द्र अधिकारीको बर्तौलाको ठाउँमा सरुवा भएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय दैलेख मानवस्रोत व्यवस्थापन शाखा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय दुल्लु, दैलखका इन्स्पेक्टर नरेश बिकको जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भएको छ ।