भदौ २३, २०७९ बिहिबार

काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्जले शक्ति मध्यवर्ती सामुदायिक वनको आक्रामक बाघ पहिचान गरेको छ । निकुञ्जका कर्मचारी, सुरक्षार्थ तैनाथ नेपाली सेना, स्थानीय मध्यवर्ती उपभोक्ता समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमसहितको टोलीले स्वामीवास वनक्षेत्रबाट भाद्र १ गते उक्त बाघ नियन्त्रणमा लिन सफल भयो। 

सूईद्वारा लठ्याइने प्रविधिमार्फत बेहोस बनाएर समातिएको बाघलाई बाँके राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा राखिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।


निकुञ्जको चेपाङ मध्यवर्ती क्षेत्रअन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरुवनीस्थित शक्ति मध्यवर्ती सामुदायिक वनमा साउन २९ गते घाँस काट्न पुगेका ४६ वर्र्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि वलीले पाटेबाघको आक्रमणमा परी ज्यान गुमाएका थिए ।


सल्यानमा समातिएको बाघ १२ वर्षको पोथी बाघ हो। बाघ बूढो भइसकेको छ। बाघको दाँत, नङग्रा भाँचिएको, स्वास्थ्य बिग्रिएको र अस्वस्थ अवस्थामा छ। आहराका लागि जनावर सिकार गर्न नसक्ने भएकाले नै बाघले सिकारको लागि मानवीय आक्रमण गर्ने गरेको हो । निकुञ्जले समस्याग्रस्त बाघहरूलाई बेला–बेला नियन्त्रणमा लिने गरेको छ।