भदौ २४, २०७९ शुक्रबार

काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताएकी छिन्।

शुक्रवार काठमाडौंमा आयोजित किताब जात्रा २०७९ को उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले राष्ट्रको उत्थानका लागि अनुशासित, मर्यादित र राज्यका निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नुपर्ने बताइन्।  उनले नागरिकहरू मुलुकप्रति समर्पित हुनुपर्ने बताइन्।

उनले अनुशासित, मर्यादित र संस्कारयुक्त हुनका लागि अध्ययनमा ध्यान दिनुपर्ने बताइन्।  राष्ट्रपति भण्डारीले अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता बनाउने भन्दै सोही क्षमताको आधारमा राष्ट्रको समृद्धिका जगहरू निर्माण हुने उल्लेख गरिन्।

उनले कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने भन्दै जीवनको विभिन्न आयामहरूसँगको साक्षात्कारबाट पनि हुने जिकिर गरिन्।  समाज परिवर्तनका लागि ज्ञान हासिल गर्नु अनिवार्य भएकोले ज्ञानका लागि अध्ययन अपरिहार्य रहेको उनको भनाई छ ।

 कार्यक्रमको अवसरमा राष्ट्रपति भण्डारीले साहित्यकार ध्रुवचन्द्र गौतमलाई ‘प्रेम साहित्य सम्मान’ अर्पण गरिन्।  त्यसैगरी किताब यात्रा वेष्ट सेलर पुरस्कारबाट पुस्तक ‘सत्यमोहन’ का लागि लेखक गिरीश गिरीलाई सम्मान गरिन्।