काठमाडौँ । धरान उपमहानगरपालिकाले साबुन र बेसार उद्योग खोल्ने भएको छ । धरानका युवाहरूलाई स्वरोजगार बनाउन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले उपमहानगरको कार्यपालिका बैठकले धरानमा साबुन र बेसार उद्योग खोल्ने निर्णय गरेको उपमेयर अइन्द्रविक्रम बेघाले जानकारी दिएका छन्।
धरान उपमहानगरपालिकाको ४,५ र २० नम्बर वडामा अत्यधिक रूपमा बेसार उत्पादन हुने भएकाले बेसार फ्याक्ट्री खोल्दा यहाँका किसान बेसार उत्पादनमा अझ जागरुक हुने उनको भनाइ छ। धरानको पहाडी भेगमा उत्पादन भएको बेसार भारतलगायतका मुलुकमा निर्यात हुँदै आएको छ ।
त्यस्तै धरानमा बाहिरबाट निर्यात हुने साबुन विस्थापित गरी स्थानीयस्तरमै लुगा धुने, नुहाउने र भाँडा माझ्ने साबुन उत्पादन गर्ने पनि कार्यपालिका बैठकबाट निर्णय गरिएको उपमेयर बेघाले बताएका छन्।