भदौ २५, २०७९ शनिबार

वीरगञ्ज, २५ भदौ । पर्साको जगरनाथपुर गाउँपालिकामा भूमिसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा गाउँपालिकाका जनप्रतिनिधीहरुरूलाई अभिमुखीकरण दिइएको हो ।

‘हाम्रो अभियान : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरणको आयोजना गरेको आयोगका अध्यक्ष अहमदले बताए । 

भूमिहीन, सुकुम्बासी, दलित एवं अव्यवस्थित बसोवासीहरूको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका सदस्य सुरेन्द्र सिंहले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए ।

सोही अवसरमा भूमिसम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती गठन गर्ने निर्णय पनि गरिएको छ । आयोगका अध्यक्ष अहमदका अनुसार पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

वडामा सहजीकरण समिती र पालिकामा सेवा केन्द्र स्थापना गर्न गाउँपालिका अध्यक्ष श्रीकान्त यादव पनि सकारात्मक रहेका देखिन्छन् । भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि पालिकाबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्षले भूमि आयोगका कामलाई सहयोग गर्ने बताए । 

अभिमुखीकरणमा  गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव , उपाध्यक्ष बबिता सिंह क्षेत्री, सम्पूर्ण  वडाका वडाअध्यक्षहरू र कार्यपालिका  सदस्यहरुको उपस्थिति रहेको थियो ।