भदौ २६, २०७९ आइतबार

काठमाडौँ । सिक्लेस हाइड्रोपावर कम्पनीले आउँदो बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने जनाएको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । यसमध्ये ५७ हजार ५०० कित्ता सामुहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्ट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 


यसमा २ असोजसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा १२ असोजसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्नेछ ।