भदौ २६, २०७९ आइतबार

काठमाडौँ । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई ४३ मध्ये ३५ वटा प्रश्न सोधेको छ । समितिका सदस्य मीन विश्वकर्माका अनुसार आइतबार १२ देखि ३५ नम्बर प्रश्नको जवाफ राणाले दिएका छन् । जवाफ दिने क्रममा राणाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व अर्थमन्त्री विष्णु पौडेललाई समेत भ्रष्टाचार प्रकरणमा मुछेका छन् ।

सर्वोच्च अदालतको भवन निर्माणमा भएको भ्रष्टाचारबारे समितिले सोधेको प्रश्नमा राणाले पूर्व प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले समेत सहयोग गरेको जवाफ दिएका थिए । त्यस्तै राणाले पूर्वप्रधानन्यायाधीशहरूको समाजलाई मण्डलेको संज्ञा समेत दिएका छन् । ‘पूर्व प्रधानन्यायाधीशहरूको होइन, पञ्चायतका मण्डलेहरुको समाज हो त्यो’, राणाले आफुविरुद्ध विज्ञप्ति निकाल्ने पूर्व प्रधानन्यायाधीशहरूको समाजप्रति लक्षित गर्दै भने ।  

समितिको अर्को बैठक भदौ २८ गते ११ बजे बस्नेछ ।