भदौ २६, २०७९ आइतबार

नेपालमार्ग, काठमाडौँ । मतदाताको व्यवहार र मतदानसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपालले देशभर गरेको अध्ययनका आधारमा तयार पारिएको उक्त प्रतिवेदन आज सार्वजनिक गरिएको हो ।

संस्थाले देशभरका सातै प्रदेशअन्तर्गत ४० जिल्लाका ६११ जनासँग मतदाता सचेतनाको स्तर र शिक्षा, सामाजिक उत्तरदायित्व, राजनीतिक दलको प्रतिबद्धता र लोभलालचले चुनावमा पार्ने प्रभावका बारेमा अध्ययन गरेको थियो । सम्प्रभुताको शक्ति प्रयोग गर्न, राजनीतिक सञ्चार, पहिचान र प्रतिनिधित्वका लागि नागरिकले मत हाल्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा मतदातालाई विद्युतीय मतदान प्रक्रियामा सहभागी गराउन पनि सुझाइएको छ । मतदाताले आफूले इच्छाएको व्यक्ति अथवा पार्टी चयन गर्नाका लागि नीतिगत रूपमै सहज वातावरण हुनुपर्ने प्रतिवेदनमा छ । मतदाता शिक्षाका लागि आमसञ्चार, औपचारिक तथा अनौपचारिक संघसंस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरालाई अङ्कित गर्दै त्यसले मूल्य मान्यतामा आधारित राजनीति र सुशासन कायम हुने कुरामा प्रतिवेदनले जोड दिएको छ । 

मतदाताको व्यवहार र मतदानसम्बन्धी यस्तो अध्ययन नेपालमा पहिलोपटक भएको हो । संस्थाले यसअघि निर्वाचन अभियानका दौरान हुने खर्चबारे अध्ययन गरेको थियो । अब महिला मतदाता, अभियन्ता, उम्मेदवार र नेतृत्वका बारेमा पनि संस्थाले अध्ययन गरिरहेको छ ।


प्रा.डा. रामदयाल राकेशले उक्त प्रतिवेदन सार्वजनिक गरेका थिए । डा. राकेशले मतदाताको मनोविज्ञानलाई अध्ययन गर्नुपर्ने निकै चुनौतीपूर्ण कार्यलाई पनि तथ्यका आधारमा प्रस्तुत गरेकामा प्रतिवेदनको प्रसंशा गरे । अर्धशताब्दीअघिको चुनाव र वर्तमान चुनावमा कुनै तात्विक अन्तर नभएको बताउँदै उनले निर्वाचनपछिको पर्यवेक्षणले लोकतन्त्र बलियो बनाउने उनले तर्क गरे ।

निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष प्रदीप पोखरेलले निर्वाचन प्रक्रिया र पद्धतिलाई बलियो बनाउन निर्वाचनको स्वच्छता र पारदर्शिताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । जसका लागि संस्थाले सचेतनाका कार्यहरू गरिरहेको उनले जानकारी दिए ।

प्रतिवेदन सार्वजनिकीकरण तथा छलफल कार्यक्रममा निर्वाचन पर्यवेक्षण समितिको अध्ययनबारे बोल्दै संस्थाका कार्यकारी सदस्य तथा प्रमुख अनुसन्धानदाता राजाराम बर्तौलाले संविधान घोषणापछिको दोस्रो स्थानीय तहको निर्वाचनमा मतदाताको व्यवहारमा ठूलो परिवर्तन भएको पाइएको बताए । राजनीतिक दलले घोषणापत्र बनाउँदा जनताले के सोच्छन् भन्दा पनि नेताहरूले जे सोच्छन् त्यसअनुसारले गर्ने भएकाले नागरिकले घोषणापत्र नपढ्ने गरेको पाइएको उनले बताए ।

घरमूलीले अमुक दलमा भोट हाल भनेर महिलालाई भन्ने गरेको तर महिलाले महिलालाई न‌ै मत हाल्ने गरेको पनि अध्ययनले देखाएको छ ।

रामकृष्ण काफ्लेले मतपत्र पट्याउने र खसाल्नेबारे मात्र अहिलेसम्म सिकाइँदै आएकामा अब मतदाताको व्यवहार, मतदान र नेतृत्वको व्यवस्थापनबारे पनि बहस हुनुपर्ने बताए । उनले एक कार्टुनको उदाहरण दिँदै भने "नेताहरूले चिनेको ठाउँमा जित्दै जित्द‌ैन, अनि नचिनेको ठाउँमा कसैले चिन्दैन" । नेताहरू आफू केन्द्रित भएको उनले बताए ।

कार्यक्रममा एम्नेस्टी इन्टरनेस्नलका ध्रुवकुमार कार्की, मानवअधिकारकर्मी तथा राजनीतिकर्मी सीपी सिंह, जेष्ठनागरिकको क्षेत्रमा काम गर्ने संस्था अँगालोकी प्रतिनिधि, निर्वाचनकै सन्दर्भमा काम गर्ने संस्था आईएफएचकी राधिका रेग्मी, पूर्वमन्त्री तथा वर्तमान सांसद रामसहायप्रसाद यादव, महिला आधारशीलाकी अध्यक्ष कमला उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूसँग अन्तरक्रिया पनि गरिएको थियो ।