चैत ३०, २०७७ सोमबार

काठमाडौं : छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ  सेमिफाइनलमा प्रवेश गरेको छ । 

विराटनगरस्थित सहिद रङ्गशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा नेपाली पुलिस क्लबलाई २–० गोलले हराउँदै एपिएफले अन्तिम चारमा स्थान पक्का गरेको हो ।


एपिएफको जितमा मणि लामा र आशिष लामाले समान १/१ गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको  खेलको ४६औँ मिनेटमा एपिएफका मणिले गोल गरे । रिबन्ड आको बलमा पेनाल्टी बक्सभित्रैबाट उनी गोल गर्न सफल भए ।

त्यस्तै खेलको इन्ज्युरी समयमा आशिष लामाले गोल गरेपछि एपिएफले २–० गोलको जित निकाल्यो ।

उक्त जितसँगै एपिएफ सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ । यसअघि शनिबार भारतको युनाइटेड फुटबल क्बल वेस्ट बङ्गाललाई ३–० ले हराउँदै विराटनगर ११ सेमिफाइनलमा प्रवेश गरिसकेको छ । आइतबार भएको खेलमा  मछिन्द्र क्लबलाई २–० गोलले हराउँदै पञ्जाब पुलिसले अन्तिम आठमा स्थान बनाइसकेको छ ।