भदौ २७, २०७९ सोमबार

काठमाडौँ । एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा क्षेत्रिय शहरी विकास आयोजना (आरयूडीपी) ले निर्माण गर्न लागेको सडकमा रहेका भौतिक संरचना हटाउन कञ्चनपुरको शक्लाफाँटा नगरपालिकाले आग्रह गरेको छ ।

नगरपालिकाको १० नम्बर वडामा निर्माणाधीन सडकमा पर्ने घरहरू भत्काउन नगरपालिकाले घरधनीसमक्ष हात जोडेर आग्रह गरेको हो ।

आरयूडीपीमार्फत एम १ सडकको क्षेत्रभित्र पर्ने भौतिक संरचना हटाउन नगर प्रमुख रणबहादुर महरा, नगर उपप्रमुख कल्पना पन्त, प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्ट, विभिन्न वडाका वडाध्यक्षले घरघर पुगेका छन् ।

नगरपालिकाले शान्तिपथस्थित सडक मिचेर वरपर बनाइएको घरटहरा, पसलहरू हटाउन २ पटक सूचना जारी गरिसकेको छ । सडकको बीच भागबाट ६–६ मिटर खाली गराउन लागिएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले बताए । नक्सा भएको सडकको केन्द्रका आधारमा भौतिक संरचना भत्काउन आग्रह गरिएको नगर प्रमुख महराले बताए ।

सडकमा पर्ने घरहरू हटाउन पटक–पटक पत्राचार गरिएको भए पनि अटेर गरेकामा आपत्ति जनाउँदै पूर्वाधार विकास समिति संयोजक एवं ८ नम्बर वडाका वडाध्यक्ष बहादुरसिंह महराले अन्तिमपटक आग्रह गरिएको र पुनः सडकमा पर्ने घरहरू नहटाइए नगरपालिका कानुनअनुसार अघि बढ्ने बताए ।

नगरपालिकाले सडक छेउमा पर्ने सम्पूर्ण घरधनीलाई समयमै आफ्नो भौतिक संरचना हटाएर सडक निर्माण कार्य अगाडि बढाउन सहयोग गरिदिन आग्रह गरेको छ । कतिपय घरधनीहरूले घर भत्काएका छन् भने कतिपयले अटेर गरिरहेका छन् ।