काठमाडौं : विराटनगरमा जारी छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज अन्तिम क्वाटरफाइनलको खेेल हुदैछ । जसमा अघिल्लो साता मात्रै सम्पन्न १९औं आहा रारा गोल्डकपको उपाधि विजेता संकटा र उपविजेता अफ्रिकन रुट्सबीच रोमाञ्चक भिडन्त हुनेछ ।
विराटनगरस्थित सहिद रङ्गशालामा आज (मंगलबार) साँझ ७ बजेबाट सुरु हुनेछ । अघिल्लो शनिबार मात्रै पोखरामा सम्पन्न आहा रारा गोल्डकपको उपाधि जितेको संकटा आजको खेलमा पनि जित निकाल्दै सेमिफाइनल प्रवेश गर्ने योजनामा रहेको छ ।
त्यस्तै यता अफ्रिकन रुट्स भने फाइनलमा हारेको बदला लिने योजनामा रहको छ । उक्त फाइनल खेलमा संकटाले अफ्रिकन रुट्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै पहिलो पटक आहा रारा गोल्डकपको उपाधि उचालेको थियो ।
यसअघि हिजो भएको तेस्रो क्वार्टरफाइनल खेलमा नेपाली पुलिस क्लबलाई २–० गोलले हराउँदै एपिएफले अन्तिम चारमा स्थान पक्का गरेको हो ।