भदौ २८, २०७९ मंगलबार

काठमाडौँ । महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ। 

बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा समितिले तयार गरेका प्रश्नहरुको बयान लिनेछ। जबराले अब बाँकी ८ वटा प्रश्नको जवाफ दिनुपर्नेछ।

आइतबार चौथो दिन उनले महाभियोग सिफारिस समितिको बैठकमा बयान दिए। बयान नसकिएकाले मंगलबार थप बयान हुने तय भएको हो।

सिंहदरबारमा बसेको समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको बताए।

आफ्ना मान्छेलाई न्यायाधीश नियुक्ति गरेको भन्ने आरोप छ नि भन्ने प्रश्नमा जबराले भने, ‘नेपालको संविधानविपरीत मैले केही गरेको छैन, हरेक पार्टीमा बारका पदाधिकारीको आकांक्षा हुन्छ, हरेक पार्टीले न्यायाधीश नियुक्तिका लागि नाम नै पठाएका हुन्छन्, मैले गरेको काम सबै छर्लङ्ग छ।’ 

उनले आफूले संविधान र कानुनबमोजिम काम गरेको बताए।

‘मंगलबार सवाल र जवाफ सकिनेछ, बाँकी काम अघि बढाइनेछ,’ समितिका सचिव लक्ष्मीप्रसाद गौतमले भने।

उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो। जबराविरूद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो।

जबराविरुद्ध नेपाल बार एसोसिएशन र सर्वोच्च बार एसोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियो। उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ।