काठमाडौँ । खेलाडीलाई खेल सामग्री किन्न पोखरामा चन्दा सङ्कलन सुरु भएको छ । सरकारले खेलकुदका लागि समयमा बजेट निकासा नदिएपछि चन्दा सङ्कलन थालिएको हो ।
सरकारसँग पटक पटक पैसा माग्दा अहिलेसम्म निकासा दिएको छैन । खेलको मिति नजिकै आइसकेको छ । त्यसका लागि असोज १ गतेबाट प्रदेश स्तरीय खेलाडीको बन्द र विशेष प्रशिक्षण हुँदै छ । तर त्यसका लागि खेल सामग्री अहिलेसम्म खरिद भएको छैन ।
कास्की जिल्ला फेन्सिङ एसोसिएसनले चन्दा संकलन सुरु गरेको हो । ‘नवौँ राष्ट्रिय खेल सुरु हुन धेरै दिन बाँकी छैन । प्रदेश खेलकुद परिषद् र मन्त्रालयबाट खेल सामग्रीका लागि पैसा आउला र भारतमा गएर खेल सामग्री किनेर ल्याइ प्रतिस्पर्धामा खेलाडीहरूलाई उतारौँला भनेर बस्ने हो भने हात लागे शून्य होला जस्तो लाग्यो,’ अध्यक्ष विजय शाहीले भने, ‘मैले खेलाडीको हितका लागि लाजै नमानी सामाजिक सञ्जालमार्फत नै हात फैलाउन बाध्य भएँ ।’
प्रदेशका खेलाडीलाई प्रशिक्षणमा राख्ने बेलासम्म पनि खेल सामग्री खरिदको टुङ्गो नलागेको उनको गुनासो छ । ‘गण्डकी प्रदेशका खेलाडीहरूको हितका लागि जिल्ला अध्यक्षको नाताले मैले कतै भनसुन गरेर हुन्छ भने किन नगर्ने भन्ने सोचेर यो कदम चालेँ,’ उनी अघि भन्छन्, ‘खेलप्रेमी व्यक्ति वा संस्था जो कसैले कास्की जिल्ला फेन्सिङ संघको खातामा सहयोग गर्न सक्नु हुनेछ ।’ सङ्कलित रकमको हिसाब पारदर्शी हुने र प्रदेशको इज्जतका लागि सहयोग गरिदिन उनको आग्रह छ ।