काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारी कारबाहीमा परेका छन् । काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्ने र उनीहरूलाई ३ वर्षसम्म ठेक्का नदिने प्रावधान अहिले कार्यान्वयनमा छ । यही प्रावधानअनुसार अधिकारी कारबाहीमा परेका हुन् ।
‘हामीले घरबेटी ठेकेदारलाई कालोसूचीमा राख्यौँ । सर्वोच्च अदालतले स्टेअर्डर दिएको थियो। त्यो पनि जित्यौँ । कालोसूचीमा ३ वर्षका लागि राखिसकेका छौं, भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं जनता समाजवादी पार्टीका सांसद मोहम्मद इश्तियाक राईले भने, ‘उनले ठेक्का पाएको पिप्ले सिसडोल सडक फास्ट ट्रयाकबाट बनाउँदै छौँ । चार महिनामा त्यो सडक बनाउँछौँ । कालोसूचीमा परेका घरबेटी ठेकेदारले तीन वर्ष ठेक्का पाउँदैनन्।‘
जनता समाजवादी पार्टीका सांसद मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेको दुई महिना बितेको छ। आफूले मन्त्रालय सम्हालेपछि नीतिगत सुधारका लागि प्रयास गरेको राई बताउँछन्।
मन्त्री राईले आफू मन्त्री हुनुभन्दा पहिला जारी भएको सार्वजनिक खरिद नियमावली १२ औ संशोधनलाई कार्यान्वयनमा जोड दिएको बताए।
जति पनि ठेक्का ओगट्न नपाउने प्रावधान अब यथावत् रहनु पर्ने भन्दै उनले स्रोतको व्यवस्थापन नगरी ठेक्का नलगाउने कानुन बनिसकेको र निर्माणस्थल खाली भएपछि मात्र ठेक्का आह्वान हुने प्रावधानअनुसार काम सुरू गर्न थालिएको समेत बताए।