काठमाडौं । चार दिने भ्रमणमा आएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेतृत्वको चिनियाँ टोलि मंगलबार बिहान भक्तपुरको अवलोकन गर्ने भएका छन् । चिनियाँ टोलि भक्तपुर भ्रमणमा बिहान ९ बजेको आसपासमा जाने भएपछि रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधेराधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडियो कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
भक्तपुर भ्रमण गरेपछि उनी सोल्टी होटल फर्कनेछन्। त्यसपछि अध्यक्ष ली राष्ट्रपति विद्यादेवी भण्डारीसँग दिउँसो शिष्टाचार भेटवार्ता गर्न राष्ट्रपति कार्यालय शीलत निवास जाने कार्यतालिका छ। दिउँसो ३ः३० बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवाससम्मको सवारी आवागमन प्रभावित हुने कार्यालयले जनाएको छ।
सवारी आवागमन प्रभावित हुने समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।