भदौ २९, २०७९ बुधबार

काठमाडौँ । जापानका लागि १ सय ८४ यात्रु बोकेर उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान काठमाडौँमै फर्किएको छ । कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि विमान काठमाडौँमै फर्काइएको हो ।


निगम स्रोतका अनुसार मंगलबार राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको उडान काठमाडौँ विमानस्थल छाडेको आधा घण्टामै फर्किएको थियो । कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा संकेत देखिएपछि चालकदलले जहाज काठमाडौँ नै फर्काएका हुन् ।

प्राविधिकहरूले विमानमा देखिएको समस्याबारे अध्ययन गरिरहेका छन् । मर्मतपछि आजै विमान नारिता उडाउने तयारी गरिरहेको निगमको विमानस्थल कार्यालयले जनाएको छ ।