काठमाडाैं। कृषि विकास बैंक मुख्य शाखा कार्यालय न्युरोडको टेलर सहायक दीपिका रेग्मीसहित दुईजनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । बैंकको रकम हिनामिनामा अदालतले रेग्मी तथा सेनाका अवकाश प्राप्त सहायक रथी रमेशराज विष्टलाई दोषी ठहर गरेको हो ।
अदालतले रेग्मीलाई आठ वर्ष कैद र बिगोअनुसार जरिवाना तोकेको छ । रेग्मीलाई ३ करोड ९२ लाख ४४ हजार ७४७ रुपैयाँ जरिवाना निर्धारण भएको छ भने विष्टलाई अदालतले चार वर्ष कैद र ३१ लाख ६८ हजार ८६४ रुपैयाँ जरिवाना निर्धारण गरेको छ । बिगोको हकमा बैङ्किङ कसुरमा उच्च अदालत पाटनले यसअघि नै दुवैलाई दोषी ठहर गर्दा निर्धारण भइसकेको छ । अदालतले दुवैलाई भदौ ७ गते नै दोषी ठहर गरेको थियो ।
सजाय निर्धारण भने सोमबार गरेको हो । विशेष अदालतका न्यायाधीशहरू शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले टेलर रेग्मी र विष्टलाई दोषी ठहर गरेको हो ।