भदौ २९, २०७९ बुधबार

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नाम लिएका सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीसँग पनि प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ ।


महाभियोग सिफारिस समितिको बुधबारको बैठकले प्रधानन्यायाधीश जबराले नाम लिएका सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीलाई छलफलमा बोलाउने निर्णय भएको हो ।

बयानका क्रममा जबराले कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, प्रतिनिधिसभाको दोस्रो विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराईको नाम लिएका थिए । त्यस्तै, न्यायाधीश प्रकाशमानसिंह राउतको पनि जबराले नाम लिएका थिए ।

जबराले नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेललाई पनि न्यायाधीशलगायत मागेको र आफूले नदिएपछि आन्दोलनमा उत्रिएको बताएका थिए ।

त्यस्तै, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल, अधिवक्ता ओमप्रकाश अर्याललगायतको नाम जबराले लिएका थिए ।