भदौ २९, २०७९ बुधबार

क्रिकेटर सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको सात दिन भइसकेको छ। गत बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। पुर्जी जारी गर्नेबित्तिकै प्रहरीले लामिछानेलाई जहाँ भेट्यो त्यही पक्राउ गर्न सकिने बताएको थियो।

सात दिन बितिसक्दा पनि लामिछाने पक्राउ परेका छैनन्। उनी अहिलेसम्म पनि पक्राउ नपरेपछि उनी कहाँ गए भन्ने चासो व्यक्त भइरहेको छ। सामाजिक सञ्जालमा उनी भागिसकेका त होइनन् भन्ने प्रश्न पनि उठ्न थालेको छ।


राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका उनी घटना भएको भोलिपल्टै केन्या पुगेका थिए। भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पुर्‍याएर पटकपटक बलात्कार गरेको आरोप उनीमाथि छ।

भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी २० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।

उक्त लिग भइरहँदा यता काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले यस घटनाको अनुसन्धान भइरहेको बताए। उनले सन्दीप लामिछाने प्रहरीको सम्पर्कमा पनि नरहेको बताए।

‘उनी हाम्रो सम्पर्कमा छैनन्। हामी पर्खेर बस्दैनौं,’ बोहराले भने, ‘हाम्रा आफ्नै प्रक्रियाहरू छन्, त्यसमा लाग्छौं।’

प्रहरीले सन्दीप लामिछाने नेपाल नफर्किएमा औपचारिक र अनौपचारिक माध्यमको प्रयोग गरी पक्राउ गर्ने बताउँदै आएको छ।

इन्टरपोलमार्फत् उनलाई पक्राउ गर्ने तयारी भएको हो त भन्ने प्रश्नमा एसएसपी बोहराले थप बताउन चाहेनन्।