जीवन बीमक संघले बैंकास्योरेन्स व्युत्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । मंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर संघले बैकास्योरेन्स पुनः सञ्चालनमा ल्याउन सुझाव दिएको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई भेटेर बैंकास्योरेन्सलाई निरन्तरता दिन अनुरोध गरेको संघका अध्यक्ष निर्मल काजी श्रेष्ठले जानकारी गराए ।
'बैंकास्योरेन्स रोकिएको अवस्था छ । यसलाई व्यवस्थित बनाएर निरन्तरता दिनु पर्छ भने कुरा हामीले राखेका छौं,' उनले भने, 'विश्वमै बैंकास्योरेन्सको राम्रो अभ्यास भइरहेकाले यसलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो माग हो ।'
राष्ट्र बैंक यस विषयमा सकारात्मक रहेको जानकारी गराउदै उनले बैंकास्योरेन्स पुनः सञ्चालनमा आए बीमाको दायरा विस्तारमा समेत सहयोग पुग्ने बताए ।
करिब ३ वर्ष अघि राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकास्योरेन्स सेवा बन्द गरेको थियो । बैंकास्योरेन्सको नाममा बैंकका कर्मचारीहरुलाई बीमा टार्गेट दिएको भएर राष्ट्र बैंकले यो व्यवस्था मौद्रिक नीति मार्फत रोकि दिएको हो ।
यस्तै संघले राष्ट्र बैंकलाई बीमा कम्पनीहरुको निक्षेपको व्याजदर बढाउन समेत माग गरेको छ । बीमा कम्पनीहरुको फण्डलाई संस्थागत निक्षेपको रुपमा राखिएको भन्दै संघले त्यसलाई पब्लिक फण्डको रुपमा लिइनु पर्ने संघले सुझाव दिएको छ ।
बीमा कम्पनीहरुले सर्वसाधरणकै पैसा बीमा शुल्क मार्फत संकलन गरेको हुनाले त्यसलाई पब्लिक फण्डकै रुपमा लिइनु पर्ने संघको माग छ ।
राष्ट्र बैंकले सर्वसाधारण निक्षेपमा भन्दा संस्थागत निक्षेपमा २ प्रतिशत कम व्याज दिन मिल्ने व्यवस्था गरेको छ । त्यस अनुसार संघले बीमा कम्पनीहरुको निक्षेपलाई सर्वसाधारण सरह गणना गरिनु पर्ने माग गरेको हो,' मेट लाइफ इन्स्योरेन्सका सिइओ समेत रहको श्रेष्ठले भने ।
यस्तै पछिल्लो सयम बैंक तथा वित्तीय संस्था बीमा सुविधा सहितको योजना ल्याउदा बीमा सम्बन्धी सेवा प्रष्टसंग राख्नु पर्ने संघको सुझाब छ । 'बैंकहरुले निशुल्क बीमा भनेर प्रचार गरिरहेका छन् । बीमा निशुल्क हुदैन,'अध्यक्ष श्रेष्ठले भने, 'बैंकले बीमा सहितको सुविधा ल्याउँदा कुन बीमा कम्पनीबाट के कतिको बीमा सुविधा पाउने हो । प्रष्ट खुलाउनु पर्छ ।'