भदौ २९, २०७९ बुधबार

काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ साफ च्याम्पियनसिपको फाइनमा भारतविरुद्ध नेपाल २–० ले पछि परेको छ । ३० मिनेटको खेल सकिँदा नेपाल २–० ले पछि परेको हो । भारतले १८ औं मिनेटमा सुरुआती अग्रता लियो । भारतले बबी सिंहको गोलमा सुरुआती अग्रता लिएको हो ।

उसका लागि दोस्रो गोल कारु सिंहले ३० औं मिनेटमा गरे । नेपाल र भारतबीचको फाइनल खेल श्रीलंकाको कोलम्बोस्थित रेस कोर्स ग्राउन्डमा भइरहेको हो । नेपालले ३३ मिनेटको खेल सकिँदा तीनपटक कर्नर र केही अन्य अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । यद्यपि नेपालले पनि आक्रामक फुटबल खेल भने जारी नै राखेको छ ।

नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको हो । समूह चरणमा नेपालले दुईवटै खेलमा जित हात पा¥यो । समूह चरणमा नेपालले भुटानलाई २–१ र भारतलाई ३–१ ले हरायो । सेमिफाइनलमा नेपालले आयोजक तथा समूह ‘बी’ को उपविजेता श्रीलंकालाई ६–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा स्थान बनायो ।

अपराजित रहेको नेपाल उच्च मनोबलमा छ । नेपालको लक्ष्य भारतलाई हराउँदै उपाधि जित्नु हुनेछ । भारत समूह चरणमा बेहोरेको हारेको बदला लिँदै उपाधि हात पार्ने प्रयासमा छ । भारतले समूह चरणमा भुटानलाई ३–० ले हराउँदा नेपालसँग ३–१ ले पराजित भयो ।

सेमिफाइनलमा उसले समूह ‘बी’ को विजेता बंगलादेशविरुद्ध २–१ को रोमाञ्चक जित हात पार्दै उपाधि भिडन्त पक्का गरेको हो । साफ यू–१७ को नाममा पहिलो पटक आयोजना भइरहेको यो प्रतियोगितालाई यसअघि यू–१६ र १५ को नामबाट सञ्चालन गरिएको थियो ।

पहिलोपटक सन् २०११ मा साफ यू–१६ च्याम्पियनसिपका रूपमा आयोजना भएको प्रतियोगिताको पछिल्लो संस्करण २०१९ मा यू–१५ उमेर समूहमा आयोजना गरियो । जारी प्रतियोगिताअघि नेपाल र भारतबीच आठ खेलमा प्रतिस्पर्धा हुँदा सबै खेल भारतले आफ्नो पक्षमा पारेको थियो ।