काठमाडौं । वेस्ट इण्डिजमा जारी १० औं संस्करणको क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत जमैका तल्लावाजविरुद्ध सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स डकवर्थ लुइस पद्धतिमा ८ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा वर्षाका कारण १५ ओभरमा झारिएको खेलमा जमैकाले दिएको १ सय १३ लक्ष्य प्याट्रियट्सले १२.३ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।
उसका लागि आन्द्रे फ्लेचरले ४५, डारेन ब्राभोले ३९, इभन लुईसले २० र शेरफन रदरफोर्डले सात रन बनाए । जमैकाका लागि इमाद वसिम र फाबियन आलनेले एकरएक विकेट लिए । त्यसअघि ओभलस्थित क्विन्स पार्कमा टस हारेर ब्याटिङको मौका पाएको जमैकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३९ रन बनायो । उसका लागि रेमन रिफरले अविजित ४०, केन्नर लुइसले २४, फाबियन आलेनले २३, ब्रेण्डन किंगले २२ र अमिर जाङ्गोले ११ रन बनाए ।
प्याट्रियट्सका लागि ड्वेन ब्राभो, शेरफन रदरफोर्ड, अकिला धनन्जय र राशिद खानले एकरएक विकेट लिए । खेलमा राशिद प्लेयर अफ द म्याच घोषित भए । उनले ४ ओभरमा एक विकेट लिएर मात्र ८ रन दिएका थिए । राशिदले चारमध्ये एक ओभर मेडन फालेका थिए । उनी केही दिनअघि श्रीलंकन स्पिनर वानिन्दु हसरंगाको रिप्लेसमेन्टको रूपमा टोलीमा अनुबन्ध भएका थिए ।
जमैकामा नेपाली लेगस्पिनर सन्दीप लामिछाने पनि थिए । तर, आफूविरुद्ध बला’त्का’रको उ’जुरी परेपछि उनले एक खेल पनि नखेलेरै सीपीएलबाट नाम फिर्ता लिइसकेका छन् । उनी अहिले प्रहरीको निगरानीमा छन् । केही दिनअघि स्वदेश फर्किने भनेर सामाजिक सञ्जालमा लेखेका सन्दीप अहिलेसम्म नेपाल पुगिसकेका छैनन् ।