भदौ ३०, २०७९ बिहिबार

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले जित हात पारेको छ । उसले आज सम्पन्न समूह चरणको अन्तिम खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध १३ रनको रोमाञ्चक जित हात पारेको हो । यो जितसँगै आर्मी समूह ‘ए’ को विजेता बन्दै सोमिफाइनल प्रवेश गर्दा पराजित पुलिसले पनि उपविजेताका रूपमा अन्तिम चारमा स्थान बनायो ।

जितको लागि १७८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित १९ ओभरमा ८ विकेट गुमाउँदै १६४ रन बनायो । वर्षाका कारण खेललाई १९ ओभरमा झारिएको थियो । पुलिसका लागि आरिफ शेख २४ बलमा १ चौका र तीन छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए । सुनिल धमलाले २७, दिलिप नाथले २३ कप्तान दीपेन्द्रसिंह ऐरीले २१, योगेन्द्रसिंह कार्कीले १४ र पवन सर्राफले १३ रन जोडे ।

आर्मीका लागि साहब आलम र सोमपाल कामीले दुईरदुई तथा जितेन्द्र मुखिया र सुशन भारीले एकरएक विकेट हात पार्दा दुई विकेट रन आउटका रूपमा प्राप्त भयो । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले निर्धारित १९ ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । उसका लागि कप्तान विनोद भण्डारी र अर्जुन साउदले अर्धशतकीय पारी खेले ।

आक्रमक ब्याटिङ गरेका भण्डारीले २९ बलमा सात छक्का र दुई चौकासहित अविजित ६६ रन बनाए । ५३ रन जोडेका साउदले ३४ बलमा सात चौका र दुई छक्का प्रहार गरे । भीम सार्कीले १५ तथा रोहितकुमार पौडेल र सोमपाल कामीले १४/१४ रन जोडे ।

पुलिसका लागि करण केसीले दुई तथा गुल्सन झा र ललितनारायण राजवंशीले एकरएक विकेट लिँदा एक विकेट रन आउटका रुपमा प्राप्त भयो । आर्मी ५ खेलमा तीन जित र २ खेलमा अंक बाँड्दै ८ जोडेर साथ शीर्ष स्थानमा रहँदा पुलिस समान खेलमा दुई जित, एक हार र दुई मा अंक बाँड्दै ६ अंकका साथ नेटरनरेटमा दोस्रो स्थानमा रह्यो । उसले समान अंक भए पनि कर्णाली प्रदेशलाई नेटरनरेटमा पछि पारेको हो ।

बिहीबार पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता आर्मी र समूह ‘बी’ को उपविजेता सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता पुलिस र समूह ‘बी’ को विजेता एनआरएनए भिड्नेछन् । फाइनल शुक्रबार हुनेछ । यदि वर्षाको कारण खेल हुन नसके समूह विजेता टोली फाइनलमा पुग्नेछन् ।