काठमाडौं । आसन्न टी–२० विश्वकपका लागि वेस्ट इण्डिजले टोली घोषणा गरेको छ । उसले बुधबार निकोलस पूरनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा केही अनुभवी खेलाडीले कमब्याक गरेका छन् । टिममा लामो समयपछि विकेटकिपर जोनसन चार्ल्सले मौका पाए ।
जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा उत्कृष्ट प्रदर्शन गरेपछि उनले मौका पाएका हुन् । त्यस्तै, अर्का ओपनिङ ब्याटर इभन लुईसले पनि कमब्याक गरेका छन् । उनी पनि पछिल्लो समय टोली बाहिर थिए । तर, लुईसले विश्वकप टिममा भने मौका पाउन सफल भए ।
तीव्र गतिका बलर सेल्डन कोट्रेलले पनि टोलीमा लामो समयपछि मौका पाए । वेस्ट इण्डिजको विश्वकप टिममा दुई नयाँ खेलाडीले अवसर पाएका छन् । नयाँ खेलाडीको रूपमा रेमन रेफर र यानिक करियाहले अवसर पाएका हुन् । आन्द्रे रसेल, आन्द्रे फ्लेचर, सुनिल नारायण, फाफियन आलेनलगायत अनुभवी खेलाडीले भने विश्वकप टिममा स्थान बनाउन सकेनन् ।
वेस्ट इन्डिजले विश्वकप २०२२ को पहिलो राउण्डमा आफ्नो पहिलो खेलमा १९ अक्टोबरमा जिम्बाब्वेसँग खेल्नेछ । वेस्ट इन्डिजको समूहमा स्कटल्याण्ड र आयरल्यान्ड रहेका छन् । समूह ‘बी’ बाट शीर्ष दुई टोली सुपर १२ मा प्रवेश गर्नेछन् । वेस्ट इन्डिजले विश्वकपअघि ५ अक्टोबर र ७ अक्टोबरमा अष्ट्रेलियासँग दुई खेलको द्विपक्षीय टी–२० शृंखला खेल्नेछ ।
वेस्ट इण्डिजको विश्वकप टोली स् निकोलस पूरन (कतान), रोभम्यान पावेल (उपकप्तान), यानिक कारिया, जोनसन चार्ल्स, शेल्डन कोट्रेल, शिमरोन हेटमायर, जेसन होल्डर, अकेल होसेन, अल्जारी जोसेफ, ब्रान्डन किंग, इभिन लुईस, कायल मेयर्स, ओबेद म्याकोय, ओडियन स्मिथ र रेमन रेफर ।