भदौ ३०, २०७९ बिहिबार

नेपालमार्ग, काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रलाई मर्मत केन्द्र र कबाडी केन्द्र भन्नेहरूलाई केन्द्रका अध्यक्ष महावीर पुनले सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन् । उनले तथ्य नबुझी निरर्थक टिप्पणी नगर्नसमेत आग्रह गरेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रमा के–के भइरहेको छ ?

१) आविष्कार केन्द्रमा बायोमेडिकल ल्याब पनि छ, जहाँ मेडिकलका नयाँ सामानहरू बनाउन अनुसन्धान गर्ने काम हुन्छ । कोरोनाको समयमा स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि करिब ९ करोड रुपैयाँको सामानहरू त्यहीँ बनाएर निःशुल्क वितरण गरिएको थियो ।

२) आविष्कार केन्द्रमा खानेकुराहरूको अनुसन्धान तथा विकास, प्रशोधन र प्याकेजिङ्ग गर्ने फुड ल्याब पनि छ, जहाँ विभिन्न किसिमका खानेकुराहरू बनाएर परीक्षण हुन्छ र बजारीकरण पनि हुन्छ ।

३) आविष्कार केन्द्रमा इलेक्ट्रोनिक्स र इलेक्ट्रिकलसम्बन्धी कामहरू पनि भइरहेका छन् र त्यसका लागि ल्याबहरू छन् ।

४) आविष्कार केन्द्रमा विभिन्न किसिमका सफ्टवेयरहरू बनाउने ल्याबहरू पनि छन् र यहाँ विभिन्न किसिमका सफ्टवेर बनाउने काम पनि गरिरहेका छन् ।

५) कृषिसम्बन्धी अनुसन्धानहरू पनि भैरहेका छन् र अहिले मौरी र माछाका विषयमा अनुसन्धान भइरहेको छ ।

६) आविष्कार केन्द्रमा एरोनटिक्स क्षेत्रमा सानो हवाइजहाज तथा ड्रोन बनाउने र रकेट बनाउने अनुसन्धानहरू पनि भैरहेको छ र त्यसको ल्याब पनि छ ।

यीबाहेक अरू कामहरू पनि भइरहेको पुनले जनाएका छन् । यो केन्द्र सबैका लागि २४ सै घण्टा खुल्छ र यहाँ आउन कुनै अनुमति र समय लिनु पर्दैन ।