भदौ ३०, २०७९ बिहिबार

काठमाडौँ: नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट लगातार वर्षाले प्रभावित हुँदै आएको छ।

सेमिफाइनल खेल पनि वर्षाका कारण प्रभावित हुँदा त्रिभुवन आर्मी क्लब सेमिफाइनल नै नखेली फाइनल प्रवेश गरेको छ।

बिहीबारका लागि तय भएको आर्मी र सुदूरपश्चिमबीचको खेल बुधबार रातिको वर्षाका कारण आउटफिल्ड भिजेकाले हुन नसकेको हो। जसका कारण आर्मी समूह ‘ए’को विजेताको हैसियतमा फाइनलमा पुगेको हो।

तालिकाअनुसार खेल बिहीबार ९स्१५ मा टियु क्रिकेट मैदानमा सुरु हुनुपर्ने खेल लामो समयसम्म पनि हुन नसकेपछि रद्द गरिएको थियो।

अम्पायरले मैदानको निरीक्षण गर्दै दुबै टिमका कप्तान विनोद भण्डारी र राजु रिजालसँग छलफलपछि खेल नहुने घोषणा गरेका थिए।

आर्मीले समूह ‘ए’मा नेपाल पुलिस क्लबलाई १३ रनले हराउँदै विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो।

दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र एनआरएनए नेपालबीच हुँदै छ। यो खेल पनि हुन नसके समूह ‘बी’ को विजेताका रूपमा एनआरएनए नेपाल फाइनलमा पुग्ने छ।

यसअघि समूह चरणमा पनि वर्षा बाधक बन्दा एपिएफ र बागमती प्रदेशले एक खेल पनि नखेली बाहिरिनु परेको थियो।