भदौ ३०, २०७९ बिहिबार

काठमाडौं। वेस्ट इण्डिजमा जारी १० औं संस्करणको क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत गयाना अमेजन वारियर्सविरुद्ध त्रिनबागो नाइट राइडर्स २६ रनले विजयी भएको छ । जारी सिजनमा उसको यो दोस्रो जित हो । नाइट राइडर्सले ६ म्याच खेल्दा तीनमा हार र एक खेलमा अंक बाँडेको छ ।

वारियर्सको यो तेस्रो हार हो । उसले पाँच म्याच खेल्दा एकमा जित, तीनमा हार र एक खेलमा अंक बाँडेको छ । आफ्नो पाँचौं खेलमा नाइट राइडर्सले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको वारियर्सले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय २४ रन मात्र बनाउन सक्यो । उसका लागि चन्द्रपउल हेमराजले २८, कप्तान शिमरोन हेटमायरले २०, हेनरिक क्लासेनले १९, जुनियर सिनक्लियरले १४ र कोलिन इन्ग्रामले १३ रन बनाए ।

वारियर्सको पारी ध्वस्त पार्नमा सुनिल नारायण, आन्द्रे रसेल र अकिल होसेनले उत्कृष्ट बलिङ गरे । प्लेयर अफ द म्याच घोषित भएका नारायणले ४ ओभरमा ९ रन दिएर महत्वपूर्ण दुई विकेट लिए । रसेलले २.५ ओभरमा १६ रन खर्चेर तीन विकेट हात पारे । अकिलले ४ ओभरमा ३६ रन दिएर तीन विकेट नै लिए । रवि रामपउल र डरिन डुपाभिलनले एकरएक विकेट बाँडे ।

त्यसअघि त्यसअघि क्विन्स पार्क ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नाइट राइडर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन बनायो । उसका लागि कोलिन मुनरोले ४२, टिम साइफर्टले २७, सुनिल नारायणले २६, कप्तान किरण पोलार्डले १६ र निकोलस पूरनले १५ रन बनाए । वारियर्सका लागि तरबिज शम्सीले चार, रोमारियो सेफर्डले तीन र इमरान ताहिरले एक विकेट लिए । यो जितसँगै पुछारमा रहेको नाइट राइडर्स चौथो स्थानमा उक्लिएको छ । पाँचौंमा रहेको वारियर्स पुछारमा खस्किएको छ ।