भदौ ३०, २०७९ बिहिबार

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले चरित्र हत्या गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले अधिवक्ताहरूलाई बोलाएर गरेको छलफलमा बोल्ने क्रममा अधिवक्ता अर्यालले निलम्बित प्रधानन्यायाधीश जबराबाट चरित्र हत्या गर्ने काम भएको भन्दै त्यसलाई समितिले गम्भीर रूपमा लिनुपर्ने बताए ।


‘मेरो र श्रीमती पुनदेवी महर्जनको नाममा जबराले दुष्प्रचार गरे । जबरालाई उपस्थित गराएर प्रत्यक्ष रूपमा जिरह गर्न दिनुपर्छ । उहाँले के-कति आधारमा आरोप लगाएको हो‚ उहाँलाई अगाडि राखेर सत्यतथ्य बुझ्नुपर्छ । जबराले आफ्नो सफाइ पेस गर्नुपर्नेमा मेरो श्रीमती र मेरो नाममा कुप्रचार गरे‚’ उनले भने‚ ‘जबराबाट चरित्र हत्या गर्ने काम भएको छ । संसदीय समितिले गम्भीर रूपमा लेओस् । महाभियुक्त र बाहिरका मान्छेले दुष्प्रचार गरे कानुनी उपचार लिन बाध्य हुनेछु ।’

पुनदेवी महर्जनले न्याय परिषद्‌मा प्रक्रियाअनुसार न्यायाधीश बन्न निवेदन दिएको भन्दै उनले २४ वर्षदेखि वकालत गर्दै आएकी आफ्नी श्रीमती आफूसँग विवाह हुनुअघि नै वकालतमा रहेको उनले बताए ।