काठमाडौँ । नेपाल टेलिकमले आज, भदौ ३१ गते शुक्रबारदेखि आफ्ना ग्राहकहरूलाई इ-सिम वितरण गर्ने भएको छ।
टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट आफ्ना ग्राहकहरूलाई निःशुल्क इ-सिम वितरण सुरू गर्ने भएको हो। इ-सिम चल्ने मोबाइल सेट भएका ग्राहकले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन्।
कम्पनीका अनुसार हाल भौतिक सिमकार्ड प्रयोग गरिरहेका पोस्टपेड र प्रिपेड नम्बरका सिमलाई निःशुल्क इ-सिममा परिवर्तन गर्न सकिने छ। त्यसैगरी नयाँ पोस्टपेड नम्बर लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ-सिम दिइने छ। नयाँ प्रिपेड नम्बरका लिने ग्राहकलाई भने अहिले यो सुविधा उपलब्ध छैन।
इ-सिम चल्ने मोबाइल सेट भएका पुराना ग्राहकले सिम लिन आवश्यक फारम भरेर बुझाउनु पर्नेछ।
इ-सिम प्रयोगमा आएपछि सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक इ-सिमलाई अन्य डिभाइस तथा स्मार्टवाच र यस्तैखाले उपकरणमा समेत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
इ-सिमको पूरा रूप इम्बेडेड सबस्क्राइबर आइडेन्टिटी मोड्युल हो। बोलिचालीको भाषामा यसलाई इलेक्ट्रिक सिम पनि भन्न सकिन्छ।
इ-सिमले मोबाइल सेटलाई दूरसञ्चार सेवा प्रदायक कम्पनीको नेटवर्कसँग कनेक्ट गर्छ। अहिले प्रयोगमा भएका सिमकार्ड मोबाइलमा राखेपछि नेटवर्कसँग कनेक्ट हुन्छ। इ-सिम भने यो सुविधा भएको मोबाइल सेटमा पहिल्यै राखिएको हुन्छ। त्यसमै सेवा प्रदायकको नेटवर्क कनेक्ट हुने हो।
यो सानो भए पनि यो हराउने, भाँचिने चिन्ता हुँदैन। त्यस्तै यसको प्रतिलिपि नम्बर पनि निकाल्न मिल्दैन।
फोन हराए इ-सिमको मद्दतले फोन कुन ठाउँमा छ भन्ने पत्ता लगाउन पनि तुलनात्मक रूपमा सजिलो हुन्छ ।
हाल कुन कुन फोनमा चल्छ इ-सिम?
नेपाली बजारमा इ-सिम लाग्ने फोन अहिले पनि उपलब्ध छन्। हालै अमेरिकामा सार्वजनिक भएको नयाँ आइफोनमा इ-सिम मात्र चल्छ। तर इ-सिम मात्र चल्ने आइफोन-१४ का नयाँ मोडलहरू अमेरिकाका लागि हो। अन्य देशमा इ-सिम र साधारण भौतिक सिम दुवै चल्ने आइफोन कम्पनीले पठाउने छ।
एप्पलले चार वर्षअघि आइफोन- एक्स मोडलबाट इ-सिम फिचर सुरू गरेको थियो। यसपछि सबै आइफोनमा इ-सिम चल्छ।
अनलाइन इ-सिम स्टोर 'होलाफ्लाई' ले इ-सिम चल्ने विभिन्न फोनहरूको सूची तयार पारेको छ।
आइफोन- एक्सएसहित आइफोन-११, आइफोन-एसई (२०२०), आइफोन-१२, आइफोन-१३ र आइफोन १४ का साथै सामसङ ग्यालेक्सी फोल्ड, ग्यालेक्सी फोल्ड- ३, ग्यालेक्सी जेड फ्लिप, ग्यालेक्सी एस-२०, एस-२१, एस- २२, नोट-२० लगायत मोडलमा इ-सिम चल्छ।
यसबाहेक हुवावे पी-४०, पी-४० प्रो, मेट-४० प्रो, मोटोरोला आरएजेडआर-२०१९, आरएजेडआर- फाइभ जी, ओप्पो फाइन्ड- ३ प्रो, रेनो-५ ए, रेनो-६ प्रो फाइच जी, फाइन्ड एक्स-५, एक्स-५ प्रो र ए-५५ एसमा पनि इ-सिम लाग्छ।
गुगल पिक्सेल-३, पिक्सेल-३ ए, पिक्सेल-४, पिक्सेल-४ ए, पिक्सेल-५, पिक्सेल-६, पिक्सेल-६ ए र पिक्सेल-६ प्रोमा पनि इ-सिम चलाउन सकिन्छ।
अहिले बजारमा उपलब्ध मोबाइल सेटमा धेरैमा तीन वटा सिमकार्ड चल्छन्। इ-सिममा भने ग्राहकले आफ्नो उपकरणअनुसार २० वटासम्म नेटवर्क (सिमसरह) चलाउन सकिनेछ। तर एकपटकमा एउटा मात्रै नेटवर्कसँग कनेक्ट हुन्छ। त्यस्तै यसका लागि फोनमा यो फिचर हुन आवश्यक हुन्छ।
यस्तो सुविधाले कुनै व्यक्ति विदेश जाँदै छ भने विदेशको नेटवर्क सेवा लिएरै पुरानो नेटवर्क पनि राखिराख्न सक्छ। त्यसलाई हटाउन वा अहिलेजस्तो सिम निकाल्नुपर्ने झन्झट बेहोर्नु पर्दैन। विदेशमा उतैको इ-सिम लिएर सहजै विदेशी नेटवर्कसँग कनेक्ट हुन सकिन्छ। आवश्यकताअनुसार नेटवर्कबाट डिस्कनेक्ट वा मोबाइलबाट उक्त इ-सिम हटाउन पनि सकिन्छ ।