भदौ ३१, २०७९ शुक्रबार

काठमाडौँ — नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट वर्षाले पूरा प्रभावित बनेको छ ।  नेपाल एपीएफ क्लब र वाग्मती प्रदेश एउटै खेल खेल्न नपाइ प्रतियोगिताबाटै बाहिरिएका छन् । त्रिभुवन आर्मी क्लब पनि टस नै नभएको खेलबाट उपाधि भिडन्तमा पुगेको छ ।


आर्मीले उपाधिका लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो रातको वर्षाले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भिजेका कारण पहिलो सेमिफाइनल खेल रद्द हुन पुग्यो । यस्तो अवस्थामा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध खेल्दै नखेली सफलता हात पार्‍यो । समूह चरणमा आर्मी समूह ‘ए’ को विजेता बनेको थियो । सुदूरपश्चिम समूह ‘बी’ मा उपविजेतामात्र रहेका कारण आर्मी फाइनल पुगेको हो । पुलिसले बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनौतीलाई १३ रनले पन्छायो । यी दुईबीचको खेल पनि मैदान भिजेका कारण ८–८ ओभरमा छोट्याइएको थियो । टस जितेको पुलिसले निर्धारित ८ ओभरमा ६ विकेट गुमाई १ सय १० रन बनायो । प्लेयर अफ द म्याच आरिफ शेखले १५ बलमा ३६ रन बनाएपछि पुलिसले बलियो स्कोर बनाएको हो ।

उनले समान ३ चौका र छक्का प्रहार गरे । कुशल भुर्तेल पहिलो ओभरमै दुई छक्का प्रहार गरेर १२ रनमा आउट भए । दोस्रो ओभरको पहिलो बलमा सुनील धमलाले छक्का प्रहार गरे पनि अर्को बलमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरीले १२ बलमा २ चौका र १ छक्का प्रहार गरी २५ रन बनाए । दीपेन्द्र र आरिफले १३ बलमा ३७ रन जोडे । करण केसीले ८ बलमा दुई छक्कासहित १८ रन बनाए । रशिद खान ४ बलमा ३ रन बनाइ आउट भए पनि गुलशन झाले २ बलमा अविजित ७ रन बनाए । एनआरएनएका दिवश गिरीले २ तथा दीपक क्षेत्री, सुनाम गौतम र दिनेश खरेलले १–१ विकेट लिए ।

जवाफमा एनआरएनएले ३ विकेट गुमाइ ९७ रनमात्र बनाउन सक्यो । दिनेश ४ रनमै आउट भए पनि कप्तान सुनाम र सागर पुनको प्रयासमा एनआरएनए टिम पुलिसले दिएको लक्ष्य छेउछाउ पुगेको थियो । सुनामले २५ बल खेल्दा २ चौका र ४ छक्कासहित ४६ रन बनाए । इनिङ्सको अन्तिम बलमा आउट भएका सागरले २० बल खेल्दै ४ छक्कासहित ३७ रन बनाए । पुलिसबाट योगेन्द्रसिंह कार्कीले २ र पवन सर्राफले १ विकेट लिए ।

फाइनल खेल शुक्रबार दिउँसो १ बजे हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि खेल हुनेछ ।