चितवन । नारायणगढको क्याम्पा चौरमा जारी इसुजु चितवन गोल्डकपमा आज (शुक्रबार) देखि सेमिफाइनलका खेलहरु सुरु हुँदैछ । पहिलो सेमिफाइनल खेलमा आज दुई हेभी वेट क्लबहरु मनाङ एफसी र सशस्त्र प्रहरी बल (एपिएफ) एफसी भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ । यि दुबै टिम मोफसलका क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् ।
मनाङ बागमती नगरपालिका सर्लाहीविरुद्ध कठिन जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मनाङले क्वाटरफाइनलमा बागमतीलाई सडन डेथमा पराजित गरेको हो । उता एपिएफले आयोजक केबिएफ ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) विरुद्ध रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
सेमिफाइनल प्रवेशका लागि एपिएफले बिएफसीलाई ३-२ ले पराजित गरेको थियो । भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्डकप असोज ३ गतेसम्म चल्नेछ । गोल्डकप विजेताले सात लाख तथा उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।