भदौ ३१, २०७९ शुक्रबार

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफैँले दिएको बयानमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । उनले महाभियोग सिफारिस समिति समक्ष दिएको बयानमा हस्ताक्षर नगर्ने भएपछि समितिको कारबाही लम्बिएको छ ।


बयान दिन महाभियोग सिफारिस समितिमा पुगेका जबराले आफूले दिएको बयानको विवरण सुनेपछि हस्ताक्षर नगर्ने बताएपछि समितिको कारबाही लम्बिएको हो ।

समितिका सदस्य मीन विश्वकर्माका अनुसार सुरुमा जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको एक पेजमा हस्ताक्षर गरिदिने बताए पनि हस्ताक्षर गर्न दिने बेला उनले नमानेका हुन् ।

उनले हस्ताक्षर गर्न नमानेपछि अहिले अध्योपान्त पढेर सुनाउने काम भइरहेको विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माले भने, ‘मैले बोलेका सबै कुराहरु बयान हुन् र अन्तिममा एक पेजमा हस्ताक्षर गर्दिन्छु, यो ठूलो रैछ, झण्डै दुई सय पेजको कपी मैले घरमा पढ्न पनि सक्दिनँ भन्नुभयो । बैठकमा ठ्याक्कै सही गर्नलाई कागज दिने बेलामा म यसमा साइन गर्दिनँ भन्नुभयो ।’

समिति बैठक अहिले ४५ मिनेटका लागि रोकिएको छ ।