नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका अध्यक्ष कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत् आयोजनाको ४९ प्रतिशत सर्वसाधारण शेयर (आईपीओ) जारी गर्ने बताएका छन् । अपर अरुण हाइड्रो इलेक्ट्रिक आयोजनाको लागि स्वदेशी ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणको अगुवा गर्ने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलप्मेण्ट कम्पनी (एचआईडीसीएल) बीच ऋण लगानी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
घिसिङले ६४ अर्ब रुपैयाँ इक्विटीमध्ये ५१ प्रतिशत आयोजनाको प्रवद्र्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका संस्थापक शेयरबाट र ३२ अर्ब सर्वसाधरण जनताको शेयर ९आईपीओ०बाट उठाइने बताए । उनले माथिल्लो अरुण जलविद्युत् आयोजनामा प्रदेश सरकार, आयोजना रहेको जिल्ला संखुवासभाका स्थानीय तह, नेपाल विद्युत् प्राधिकरणलगायतको संस्थापक शेयर रहने जानकारी दिए ।
घिसिङले माथिल्लो अरुणमा जलविद्युत् आयोजनामा नेपालमा ब्लेन्डेड फाइनान्सिङको पहिलो प्रकारको मोडालिटीमा निर्माण गरिने उल्लेख गरेका छन् । उनले ब्लेन्डेड फाइनान्सिङ मोडेलमा बन्ने आयोजनाले मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक हलचल ल्याउने दाबी गरे । उनले चार अंकको जडित क्षमता (१०६१ मेगावाट) भएको माथिल्लो अरुणबाट अहिले देशमा खपत भइरहेको ऊर्जाको झन्डै ५० प्रतिशत ऊर्जा उत्पादन हुने दाबी गरे ।
घिसिङले सुख्खा समयमा समेत ३० प्रतिशत विद्युत् उत्पादन हुने बताए । उनले आयोजनामा लगानीको लागि एचआईडीसीएलको अगुवाइमा हुने सहवित्तीयकरणमा नेपालका निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले पनि आयोजनामा ऋण प्रवाह गर्ने बताए । उनले आयोजना तुलनात्मक रुपमा सस्तो भएकाले धेरैलाई सहभागी बनाएर नमूना परियोजनाको रुपमा फाष्ट ट्रयाकमा काम अगाडि बढाउने बताए ।
‘यो आयोजना नेपालको अर्थतन्त्रमा ठूलो हलचल ल्याउँछ । आयोजना बनाउनको लागि सरकारी राष्ट्रिय बाणिज्य बैंक र अन्य निजी क्षेत्रका बैंकहरू पनि आउनुहुने छ । निजी बैंकहरूलाई पनि एचएलडिसियल बैंकमार्फत आउनु हुन्छ । चार डिजिटका प्रोजेक्ट र सबैभन्दा बढी इनर्जी भएको प्रोजेक्ट करिव ४ अर्ब ५० करोड इनर्जी मात्रै रहेको छ । अहिले विद्युत खपत १० अर्ब युनिट हो । ५० प्रतिशत इनर्जी यो आयोजनाबाट मात्रै आउँछ । यो नेपालको गेम चेन्जर प्रोजेक्टको रुपमा राखिएको छ । आयोजना बनेपछि नेपालको जलविद्युतको क्षेत्रमा ठूलो परिवर्तन ल्याउनेछ’, कार्यकारी निर्देशक घिसिङले भने ।