नेपाल प्रवेश गर्न लागेका ट्याङ्कर भारतमा रोकिएका छन् । करिब ४० वटा ट्यांकर प्रवेशमा भारतीय चालकहरूले अवरोध गरेका छन् । राजस्व अनुसन्धान कार्यालय इटहरीले गाडी पक्राउ गर्नुका साथै चालकलाई दुर्व्यवहार गरेको भन्दै भारतीय चालकहरूले पानीटंकी क्षेत्रमा इन्धनका ट्यांकरमाथि अवरोध गरेका हुन् ।
बिहीबार राति राजस्व अनुसन्धानले अवैध रूपमा नेपाल भित्र्याइएको आरोपमा फलफूल र तरकारी बोकेका चार वटा गाडी मोरङको भाउन्नेबाट नियन्त्रणमा लिएको थियो । गाडी चालकलाई सशस्त्र प्रहरीले दुर्व्यवहार पनि गरेको आरोप भारतीय चालकहरूको छ ।
मेची भन्सार प्रमुख केशव ओलीले तेल बोकेर नेपाल छिर्न लागेका करिब ४० वटा ट्यांकरलाई प्रवेशमा रोकिएको जनाए । उनका अनुसार ट्यांकर घेरेर भारतीय चालकहरूले विरोध गरिरहेका छन् ।
पानीटंकीका एक व्यापारीले करिव दुई घण्टादेखि ट्यांकरलाई अवरोध गरिएको र जलाउने धम्की पनि दिइएको छ । राजस्व अनुसन्धान कार्यालयका अधिकृत तीर्थ खनालले दादागिरी शैलीमा अवैध रूपमा नेपाल छिरेका भारतीय सवारीलाई पक्राउ गरी मुद्दा चलाइएको जनाए ।