काठमाडौँ — सर्वोच्च अदालतको गेटमा सुरक्षाकर्मी परिचालन गरिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेपछि त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको हो ।
निलम्बन फुकुवा नभएको तर्क गर्दै जबरालाई रोक्न आइतबार नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरू सर्वोच्च अदालत पुग्ने तयारी गरेका छन् । उनीहरूलाई सहयोग गर्न सरकार पनि तत्पर देखिएको छ । जबरालाई रोक्न सर्वोच्चको मूल गैटमै कार्यालय समअघि नै सुरक्षाकर्मी परिचालन गरिएको छ ।
शनिबार अबेर राति महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउँदै गर्दा जबराले भने आफू नियमित काममा फर्कने सूचना सर्वोच्च प्रशासनलाई पठाएका थिए । आइतबारदेखि नियमित काममा फर्कन थालेकाले आवश्यक तयारी गर्न भन्दै उनले कामु मुख्य रजिस्ट्रार नारायण पन्थीलाई ‘निर्देशन’ दिएपछि सर्वोच्च प्रशासन, न्यायाधीशहरू र बारका पदाधिकारीको आ–आफ्नो समूहमा तीव्र छलफल भएको थियो ।