असोज २, २०७९ आइतबार

काठमाडौँ । निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ। प्रहरीले लामिछाने सम्पर्कविहीन भएपछि  इन्टरपोलको सहयोग लिन लागेको हो।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए पनि लामिछाने अझै पक्राउ परेका छैनन्। उनी प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) दुवैको सम्पर्कमा छैनन्। यसो हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंले इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको एक प्रहरी अधिकारीले बताए।


प्रहरीले सन्दीप नेपाल नफर्किए औपचारिक वा अनौपचारिक माध्यमको प्रयोग गरी पक्राउ गर्ने बताएको थियो । अहिले उनी कुन देशमा छन् भन्ने खुलेको छैन । यसअघि उनी दुबईमा हुनसक्ने भन्दै प्रहरीले अनुमान पनि गरेको थियो। तर, उक्त कुरा पुष्टि हुन सकेको छैन।