असोज ३, २०७९ सोमबार

एएफसी यू-२० एसियन कप छनोटमा नेपालले पराजित बेहोरेको छ ।

आइतबार राति बहराइनमा भएको लिगको अन्तिम खेलमा बंगलादेशसँग ३-० गोल अन्तरले पराजित हुँदै नेपाल जितविहीन बनेको हो।

बंगलादेशलाई देशलाई जिताउन एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले १-१ गोल गरे  ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा नेपाल ९ र बंगलादेश १० खेलाडीमा समेटिएको थियो।

खेलको छैटौं मिनेटमा जोनीले गोल गर्दै बंगलादेशलाई सुरूआती अग्रता दिलाएका थिए ।

खेलको १० औं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पारे।

खेलको २६ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो। नेपालले फ्रिकिक लिने क्रममा डिफेन्डर अजय चौधरीले बंगलादेशका खेलाडीमाथि कुइनोले प्रहार गरेको भन्दै रेफ्रीले सोझै रातो कार्ड देखाएका थिए। ३५ औं मिनेटमा नेपालका कप्तान आयुष घलान पनि रातो कार्ड खाँदै बाहिरिए।

खेलको २० औं मिनेटमा सन्दीप कार्कीको स्थानमा मैदान प्रवेश गरेका आयुष विपक्षी खेलाडीलाई माझी औंला देखाएको भन्दै रातो कार्ड पाएर बाहिरिएका हुन्। आयुषले हात मिलाउने क्रममा बंगलादेशका अजिजुल हक अनन्तोले जिस्काएपछि जवाफ फर्काउने क्रममा आयुषले माझी औंला देखाएका थिए। यस्तै रेफ्रीले बंगलादेशका अनन्तोलाई पनि दोहोरो पहेँलो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए। यो सँगै बंगलादेश १० खेलाडीमा समेटिँदा नेपाल ९ खेलाडीमा समित भएको थियो।

पहिलो हाफमा २-० ले अघि रहेको बंगलादेशले दोस्रो हाफमा थप गोल गर्‍यो। खेलको ५२ औं मिनेटमा निजुमले गोल गर्दै बंगलादेशलाई ३-० को अग्रता दिलाए। त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा नेपाल जितबिहिन बनेको थियो।

समूह चरणमा नेपालको यो लगातार चौंथो हार हो ।

यस हारसँगै समूह 'बी' मा रहेको नेपालले अंक विहीन रहदै समूहको पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।

भुटानसँग पहिलो खेलमा २-० ले पराजित भएको नेपाल दोस्रो खेलमा कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको थियो। तेस्रो खेलमा आयोजक बहराइनसँग ६-० गोल अन्तरले पराजित भएको थियो ।

यता बंगलादेशको यो दोस्रो जित हो। बंगलादेश ४ खेलमा ७ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्‍यो।

नेपाल र भुटानलाई हराएको बंगलादेशले बहराइनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो।

समूहमा सबै चार खेल जितेको कतारले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाएको छ।