यसपालि दक्षिण एशियाली महिला फुटबलमा नयाँ 'च्याम्पियन' का लागि नेपाल र बाङ्ग्लादेशबीच सोमवार प्रतिस्पर्धा हुन लागेको छ।
दक्षिण एशियाली महिला खेलाडीहरूको सबभन्दा ठूलो प्रतियोगिता साफ वीमन्स च्याम्पियनशिपको १२ वर्षे इतिहासमा पहिलो पटक साफको महारथी टोली भारत सेमिफाइनलमै रोकियो।
सन् २०१० देखि अपराजित रहँदै दक्षिण एशियमा आफ्नो वर्चस्व राख्दै आएको भारतले यसपालि दुई खेल लगातार हार्यो। एउटा खेल बाङ्ग्लादेशसँग अर्को नेपालसँग।
भारतलाई पराजित गरेपछि दुवै टोलीमा समान उत्साह र विजयी बन्ने आकाङ्क्षा देखिन्छ।
सोमवारको फाइनल नेपाल र बाङ्ग्लादेशबीच कीर्तिमानसहित उपाधि जित्ने अवसरहरूको रोमाञ्चक भिडन्त हुनेछ।
प्रतियोगिता सुरु हुनेबित्तिकै बाङ्ग्लादेशको खेलले धेरैलाई मोहित पारेको थियो। धेरैलाई यसपालि बाङ्ग्लादेश भिन्न देखिएको छ भन्ने लागेको थियो।
भारतलाई पन्छाएर बाङ्ग्लादेशले त्यो प्रमाणित पनि गरेको देखियो।
नेपाली खेलाडीहरूको कथा त झन् बेग्लै छ। दक्षिण एशियाली स्टार स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा' विनै नेपालले फाइनलसम्मको यात्रा तय गर्दा 'टीम स्पिरिट' को उदाहरण प्रस्तुत गरेको छ।
नेपाली टोली यसपालि स-साना गल्ती गर्ने पक्षमा पनि देखिएको छैन।
फेरि इतिहासलाई फर्केर हेर्दा बाङ्ग्लादेशविरुद्ध नेपाल हावी हुँदै आएको पनि देखिन्छ।
जसरी नेपाल भारतविरुद्धको फाइनलमा पीडित हुँदै आएको थियो, त्यसरी नै बाङ्ग्लादेश चाहिँ नेपालको 'सिकार' बन्दै आएको छ।
साफमा बाङ्ग्लादेश तीन पटक नेपालसँग रोकिएको छ। उसले अनि नेपालको सिनियर टोलीलाई अझैसम्म पराजित गर्न सकेको छैन।
नेपालमा गत वर्ष खेलिएको दुई मैत्रीपूर्ण खेलमा एकमा बराबरी गर्न पाँउदा बाङ्ग्लादेशका खेलाडीहरू निकै खुसी भएका थिए।
यस अर्थमा सोमवारको फाइनल दुवै टोलीका लागि बराबरको अवसर देखिन्छ।
बाङ्ग्लादेशका प्रशिक्षक गोलोन रब्बानी छोटोन उपाधिको उत्कृष्ट अवसर गुमाउन चाहँदैनन्। "मलाई थाहा छ नेपालबाट उपाधि लैजान कति गाह्रो छ। फाइनल हाम्रो लागि कठिन, अत्यन्त प्रतिस्पर्धात्मक र रमाइलो हुनेछ। र त्यसको लागि हामीसँग योजना छ," उनले भने।
फाइनलको यात्रा तय गर्दासम्म बाङ्ग्लादेशले २० गोल गरिसकेको छ। यसमा बाङ्ग्लादेशकी उच्च गोलकर्ता सविना खातुनले दुई ह्याट्रिकसहित ठूलो आत्मविश्वास देखाएकी छन्।
उनी नेपाली टोलीको लागि मुख्य तगारो हुन सक्छिन्।
अर्कोतर्फ बाङ्ग्लादेशको यो टोलीमा लामो समय एकसाथ खेल्दै आएका खेलाडीहरूबीच तालमेल बलियो हुनसक्ने देखिन्छ।
भारतलाई हराएपछि बढेको आत्मविश्वास पनि त उनीहरूसँग छ।
यसतर्फ नेपाली प्रशिक्षक कुमार थापाको आँखा पक्कै परिसकेको होला।
नेपालको बलियो पक्षमा चाहिँ 'बलियो टीम भावना' देखिएको छ।
नेपालको मुख्य हतियार मानिएकी सावित्रा भण्डारी पहिलो खेलपछि नै डेङ्गी लागेका कारण बाँकी खेलमा मैदानमा नहुँदा दर्शकहरूको मनमा पसेको चिसोलाई अन्य खेलाडीहरूले हटाइसकेको देखिन्छ।
फाइनलसम्म पुग्दै गर्दा हरेक खेलमा नेपालले जितसँगै आत्मविश्वास पनि आर्जन गर्दै गएको देखिन्छ।
रङ्गशालामा खेल हेर्न र नेपाली टोलीलाई समर्थन गर्न जाने दर्शकहरूको उपस्थिति नेपालका लागि अतिरिक्त ऊर्जा बन्नेछ।
अर्को एउटा तथ्य पनि छ। जारी साफमा जसले पहिला गोल गर्यो, उसले नै खेल जितेको छ।
अर्थात् गोल खाएको टोली खेलमा फर्किन सकेको छैन। त्यसैले नेपाललाई पहिलो गोल अर्थात् अग्रता आवश्यक छ।
साफ च्याम्पियनशिप इतिहासको यो संस्करणमा धेरै कुरा परिवर्तन भएको देखिएको छ। नयाँ कीर्तिमानहरू बनेका छन्।
यसपालिको नतिजाले दक्षिण एशियाली महिला फुटबल प्रतिस्पर्धाको पथमा लम्किएको सङ्केत गरेको छ।
नेपालले त्यसलाई पछ्याउँदै भारतलाई पराजित गरी अर्को कीर्तिमान रच्यो। अब नयाँ राष्ट्रले पहिलो पटक उपाधि जित्दा साफमा अर्को नयाँ इतिहास रचिने नै छ।
सोमवार साँझ दशरथ रङ्गशाला त्यसको साक्षी हुनेछ।
पहिलो पटक घरेलु भूमिमा उपाधि जित्ने अवसरको नजिक पुग्दा नेपाली खेलाडीहरू नेपाली फुटबलप्रेमीकै अगाडि जितको उत्सव मनाउन कति हतारिएका होलान् भन्ने अहिले अनुमान मात्र गर्न सकिन्छ।