काठमाडौँ । सर्वियाको बेलग्रेडमा आयोजना हुने आईएसएफ वर्ल्ड स्कुल बास्केटबल च्याम्पियनशिप २०२२ मा सहभागी हुन नेपाली बास्केटबल टोली त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरे । बिदाइ कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले अध्ययनका साथसाथै खेललाई पनि अगाडि बढाइरहेका खेलाडीप्रति कृतज्ञ हुँदै स्कुल र कलेजमा खेलकुदको पूर्वाधार निर्माणमा जोड दिनुपर्ने र आफू त्यसका लागि लागीपर्ने बताए ।
जनार्दन ढुङ्गेलको नेतृत्वमा च्याम्पियनशिपमा सहभागी हुन जाने टोलिको टिम प्रशिक्षकमा सदीश प्रधान रहेका छन् । यस्तै खेलाडीहरूमा सामराज श्रेष्ठ, प्रथम श्रेष्ठ, आशिप महर्जन, शिभम् श्रेष्ठ, कोनोर गुरुङ्ग, बेनभ श्रेष्ठ दुवाल, उज्वल धौगोडा, प्रणय बासी, सुजल बलय श्रेष्ठ, सुजार राजकर्णिकार र अविग्न श्रेष्ठ रहेका छन् । अफिसियलमा भूपेन्द्र शमसेर कुँवर, मधु ढुङ्गेल र ममता बस्नेत रहेका छन् ।
प्रतियोगिता सेप्टेम्बर २० देखि २८, २०२२ मा हुने कार्यक्रम रहेको छ । बिदाइ कार्यक्रममा नेपाल स्कुल स्पोर्टस् महासंघका उपाध्यक्ष मोहनकुमार कार्की, आईएसएफ कार्यकारी समितिका सदस्य, प्राविधिक कमिसनका अध्यक्ष एवं नेपाल स्कुल स्पोर्टस् महासंघका सचिव राजकुमार कार्कीको उपस्थिति रहेको थियो । बिदाइ आइतबार गरिएको हो ।