असोज ३, २०७९ सोमबार

डोटीको बोगटान फुड्सिल गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन् भगवती बम । उनै बमले राज्यले प्रदान गरेको सुविधाको दुरूपयोग गरेको पाइएको छ। 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट टिकट लिएर उपाध्यक्ष पदमा निर्वाचित भएकी बमले हालसम्म पनि कार्यालयको स्कूटर मात्र नभएर ल्यापटप तथा मोबाइलसमेत फिर्ता नगरेको बुझिएको छ। 

उनको कार्यकालको सुरुमै खरिद गरेको सु.प.प्र ०१-००१ ब १४६० नम्बरको स्कूटर पालिकामा एक दिन पनि नल्याएर कैलालीको घनगढीस्थित उनको घरमा प्रयोगमा रहेको खुल्न आएको छ ।

गाउँपालिकाको बजेटमा खरिद गरी निकालिएको स्कूटर आफ्ना आसेपासेलाई मस्ती गर्न दिएको भन्दै स्थानीयले विरोध गरेका छन्। 

'राज्यको सम्पत्ति जनताको सेवाका लागि प्रयोग गर्नु स्वाभाविक हो तर दुरूपयोग गर्न पाइँदैन।' स्थानीय शेरबहादुर बमले भने, 'बोगटान फुड्सिल गाउँपालिकामा स्कूटर चलाउने राम्रो सडकै पुगेको छैन, स्थानीय नागरिक सडकको पहुँचमा अहिले पनि छैनन्, अझै पनि यहाँका नागरिक पिठ्युँमा भारी बोक्न बाध्य छन्, उता गाउँपालिकाले स्कूटर खरिद गरेर धनगढीमा छोरी तथा अन्य आफन्तलाई चलाउन दिएको सुन्नमा आएको छ।'

राज्यको सम्पत्ति दुरूपयोग गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने स्थानीय बमले बताए। कार्यकाल सकिँदा सरकारी सम्पत्ति तत्काल सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने उनले बताए।

निवर्तमान उपाध्यक्ष बमले स्कूटर आफन्तलाई जिम्मा लगाएर आफू गाउँपालिकाको बोलेरो जीप प्रयोग गर्दै आइरहेकी थिइन्। 

'मलाई स्कूटर चलाउन पनि आउँदैन, कर्मचारीहरूले के-कसरी किने थाहा भएन', निवर्तमान उपाध्यक्ष बमले भनिन्, 'सबै उपाध्यक्षले किनिरहेका हुन्छन्, तपाईंले पनि किन्नुपर्‍यो भनेर अफिसले किनेर मेरो धनगढीस्थित घरमा राखिदिए।'

उनले आफूलाई स्कूटरका विषयमा केही पनि थाहा नभएको बताउँदै मूल्य र स्कूटर नम्बरसमेत भन्न मानिनन्। बिग्रेर थन्किएको स्कूटर, मोबाइल र ल्यापटप गाउँपालिकालाई लैजान भनिसकेको भए पनि अहिलेसम्म नलगेको उनले बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत चन्दले स्कूटर बिग्रेर निवर्तमान उपाध्यक्षको घरमा थन्काइएको बताएका छन्। 

स्कूटर मर्मत गरेर ल्याउने उनले बताए। पालिकाभित्रको सुविधाका लागि खरिद गरेको यसरी बाहिर चलाउन नमिल्ने स्वीकार गरेका छन्। 

पालिकामा स्कूटर चल्ने सडक नभए पनि आफू आउनुभन्दा पहिले नै खरिद भइसकेकाले किन किनियो सबै कुरा आफूलाई थाहा नभएको चन्दले बताए।