असोज ४, २०७९ मंगलबार

काठमाडौँ । नेपालको दुईतिर झण्डै डेढ अर्बको हाराहारीमा जनसङ्ख्या भएका देशहरू विद्यमान छन् । यी दुई देशबाट १ प्रतिशत मात्र पनि जनसङ्ख्या नेपालतर्फ आउँछ भने नेपालको अवस्था के होला ? नेपालले उदार नागरिकता नीति अवलम्बन गरेमा ठूलो सङ्कट आइपर्ने कतिपय विश्लेषकहरू बताउँछन् । त्यसकारण दुई विशाल जनसङ्ख्या भएका मुलुकको माझमा रहेको नेपालले आफ्नो नागरिकता नीतिबारे संवेदनशील हुनु निकै जरुरी देखिन्छ । 

अहिलेको विवादको मुख्य विषय भनेको कुनै विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेर आएपछि कहिले र कसरी नेपालको नागरिकता प्राप्त गर्ने भन्ने नै हो । त्यसैले यस लेखमा दक्षिण एसियालगायतका विश्वका विभिन्न मुलुकले आफ्ना नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिने प्रावधानहरू कसरी व्यवस्थापन गरेका छन् भन्नेबारे चर्चा गरिएको छ । 


सबैभन्दा पहिले भारतबाटै कुरा सुरु गरौँ । 

भारतः नेपालसँग खुला सीमाना रहेको मुलुक भारतमा भारतीय नागरिकसँग बिहे गर्ने विदेशी महिलाले त्यहाँको नागरिकता पाउन ७ वर्ष कुर्नुपर्छ । भारतको नागरिकता ऐन, १९५५ मा भारतीय नागरिकसँग विवाह गर्ने विदेशीले ७ वर्षपछि नागरिकताका लागि आवेदन दिन पाउने व्यवस्था छ । 


बङ्गलादेशः बङ्गलादेशी नागरिकसँग विवाह भई कम्तीमा ५ वर्षदेखि त्यहाँ बसोबास गरिरहेको र बङ्गाली भाषा जानेको व्यक्ति मात्र त्यहाँको नागरिकता प्राप्तिका लागि निवेदन दिन योग्य मानिन्छ ।

पाकिस्तानः पाकिस्तानको नागरिक ऐन, १९५१ ले पाकिस्तानी नागरिकसँग विवाह गर्ने विदेशी महिलाले पाकिस्तानको नागरिकका लागि आवेदन दिन ५ वर्ष कुर्नुपर्ने व्यवस्था गरेको छ ।

भुटानः भुटानको नागरिकतासम्बन्धी कानुनमा भुटानी नागरिकसँग विवाह गरेकी विदेशी महिलाले कम्तीमा १० वर्ष त्यहाँ बसोबास गरेपछि नागरिकता प्राप्तिका लागि निवेदन दिनसक्ने व्यवस्था छ । नागरिकता पाउन ती महिलाले अधिकारीसमक्ष निष्ठाको शपथसमेत खानुपर्ने कानुनमा व्यवस्था छ ।

माल्दिभ्सः माल्दिभ्सको नागरिकता पाउन कुनै पनि व्यक्ति कम्तीमा १२ वर्ष त्यहाँ स्थायी रूपमा बसोबास गरेको र त्यहाँको इस्लाम धर्म अवलम्बन गरेको हुनुपर्ने कानुनी व्यवस्था छ ।

अफगानिस्तानः अफगानिस्तानको नागरिकतासम्बन्धी कानुनमा अफगानी नागरिकसँग इस्लामिक सरिया कानुनअनुसार विवाह गरे तत्काल नागरिकता पाउन योग्य हुने उल्लेख छ । सरिया कानुनअनुसार बिहे भएको अवस्थाबाहेक नागरिकता प्राप्तिका लागि योग्य हुन कम्तीमा ५ वर्ष अफगानिस्तानमा बसोबास गरेको हुनुपर्ने व्यवस्था छ ।

अमेरिकाः अमेरिकामा विदेशीले नागरिकता प्राप्त गर्न ५ वर्षदेखि स्थायी बसोबास परिचय पत्र (ग्रिन कार्ड) प्राप्त गरेको हुनुपर्छ । अमेरिकी नागरिकसँग बिहे गर्ने महिलाले पनि नागरिकताका लागि आवेदन दिन कम्तीमा ३ वर्षअघि त्यस्तो ग्रिन कार्ड प्राप्त गरिसकेको हुनुपर्छ ।

बेलायतः बेलायती नागरिकसँग विवाह गरेका विदेशीले त्यहाँको नागरिकता प्राप्तिका लागि निवेदन दिन त्यहाँ स्थायी बसोबास रहेको प्रमाण पेश गर्नुपर्छ । कम्तीमा ३ वर्ष वैधानिक हिसाबले बसोबास गरेको, बेलायतको जीवनपद्धतिबारे राम्रो ज्ञान भएको तथा ‘लाइफ इन द युके’ नामक कम्प्युटराइज्ड परीक्षा उत्तीर्ण गरेको लगायतका योग्यतापछि मात्र त्यहाँको नागरिकताका लागि आवेदन दिन पाइन्छ ।

चीनः नेपालको उत्तरी छिमेकी चीनमा विदेशीले नागरिकता लिन भने सहज छैन । नागरिकतासम्बन्धी कानुनको दफा ७ मा चिनियाँ नागरिक नजिकका आफन्त भएमा, चीनमा बसोबास गरेको भएमा र अरू कुनै वैधानिक कारण भएमा कुनै विदेशीले चिनियाँ नागरिकताका लागि आवेदन दिन सक्छन् । तर, त्यसअघि अर्को परिचयपत्र (चिनियाँ ग्रिन कार्ड) प्राप्त गर्नुपर्छ ।  चिनियाँ नागरिकसँग विवाह गरेकी महिला त्यसका लागि कम्तीमा ५ वर्ष चीनमा बसोबास गरेकी हुनुपर्छ । त्यस ५ वर्षमा पनि हरेक वर्ष कम्तीमा ९ महिना चीनमै बसेको प्रमाण पेश गर्नुपर्छ । नियमित आम्दानी भएको तथा चीनमै स्थायी बसोबास भएको प्रमाण पेश गरेपछि बल्ल चिनियाँ ग्रिन कार्ड प्राप्त गर्न सकिन्छ ।


(यो सामग्री विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचार र सूचनाका आधारमा तयार गरिएको हो)